२०६० साल तिर बुटवलमा बसाइ थियो । संगै पढने धेरै साथिहरु देश पढ्ने भन्दै रोल्पातिर लागे । देशको पढ्ने भनेपनी खासमा माओवादी आन्दोलनमा पुर्णकालिन कार्यकर्ता हुन ती दौंतरीहरु हिडेका थिए । त्यतिबेला मेरो पढाइ पनि सुलुलु हिडन सकेको थिएन । हुन त अझै पनि त कहाँ लगातार हिडेको छ र । दिउँसोमा प्रेस मजदुरको रुपमा काम गर्दा मासिक हजार पन्ध्र सय हात लाग्थ्यो । जाडो गर्मी केही भन्न पाईदैन्थ्यो। बिहान ४ बजेदेखि पत्रीका बितरकको काम पनि गर्दथे । दुइतिर काम गर्दा जसोतसो खर्च चलेको थियो । संगठन ( अखिल क्रान्तिकारी) का नेताहरुले लाए अराएको काम गर्न पनि पछि परिएन । उनिहरुले होलटाईमर कार्यकर्ता बन्न दबाब दिएपनि म पुर्णकालिन कार्यकर्ता भैन कारण अनेक छन । अझैपनी बुटवलमा कोठा भाडामा दिदा जात थर मजाले सोधिन्छ । नत्र डेरा पाउनै समस्या। आजभन्दा १६ बर्ष अघि त झन नसोध्ने कुरै भएन । पुर्ख्यौली स्याङ्जा घर भएका भल बहादुर सुनारको घरमा हामि दुईभाइ बस्थ्यौं । २०६० माघतिरको कुरा हो भल अन्कलले हामी दुई भाइ समक्ष वैदेशिक रोजगारीको प्रस्ताव ल्याउनु भो ।उहाँको भनाइ अनुसार दुबईको सुपरमार्केटमा काम,आकर्षक तलब भन्ने थियो । एसएलसि पास युबाहरु खोजेको छु । राम्रो काम भएकोले सकेसम्म हाम्रै बर्ग जातिका मान्छे लैजान पाए उत्तम हुने कुरा गर्नु भो । शैक्षिक प्रमाणपत्रहरु दूतावासबाट प्रमाणित गराउनुपर्ने र बिदेश जाने भए तुरुन्त पासपोर्ट बनाएर आउन भन्नुभएको थियो । उहाँको कुरा सुनेपछी हामी दुई भाइबिच सल्लाह भो । राम्रोसँग पढन सकिएको छैन, सोचे झै दामपैसो कमाइएको छैन, पुर्णकालिन कार्यकर्ता हुने मनै छैन । बिकल्प के त आखिर उहीँ बिदेश। त्यसैले होला अंकलको प्रस्तावमा लोभियौं। अनि हिडियो पासपोर्ट बनाउन तम्घास । सहज थिएन पासपोर्ट बनाउन । त्यतिबेला पासपोर्ट बनाउन आउनेलाइ सिडिओले छेउमा प्रहरी अधिकारी राखेर विभिन्न प्रश्न सोध्थे । पासपोर्ट बनाउन आउनेको दिनहुँ लर्को लाग्थ्यो । मेरो पालो आयो, सिडिओको सामुन्ने हाजिर भए अनि सवालजवाफ सुरु भो । आजभोली प्राय सरकारी कर्मचारीले सेवाग्राहीलाई हजुर तपाई भन्छन । २०६३ अघि कर्मचारीबाट तपाईं सुन्न सुटेट्बुटेट हुन पर्थ्यो । तेरो नाम केहो? उताको प्रश्न मैले नाम भने । बुटवल के गर्छस? पढछु हजुर । तम्घासकै रैछस क्याम्पसमा माओवादी आतंककारीहरु शीत सङ्गत गरेको त छैनस नि ? छैन हजुर त्यस्तासित न भेट छ न सङ्गत छ । प्रश्न उत्तर सकियो । खासमा म २०५८ साउनदेखी नै माओवादीका होलटाईमर कार्यकर्ताहरु संग हेलमेलमा थिए। सम्पर्कमा थिएं। सिडिओलाई मजाले झुक्काइयो भनेर म मख्खै परे । पाँच वटा धुर्बेहात्तीको रसिद काटि बनाएको पासपोर्ट हात लाग्नसाथ बटौली झरियो । भल बहादुर अन्कललाइ पासपोर्ट संगै एस एल सि का सक्कली सर्टि्फिकेट पनि बुझाइयो । दुई महीनाभित्र दुबई पुग्ने सपना देख्न थालियो । दुबई जाने ४/५ बर्ष काम गरि पैसा कमाउने अनि नेपाल आएर आफ्नै अफसेट प्रेस ब्यबसाय सुरु गरेर ब्यापारी हुने । सपना मनभरी साचियो । २०६० माघमा पासपोर्ट बुझाइयो । बढिमा दुई महिना भनेको २०६१ असोज सम्म पनि भिसा आएन । भल अन्कललाइ सोध्दा काम हुदैछ भन्ने बाहेक अरु जवाफ आएन ।क्रान्तिकारिका साथीहरूले पनि पुर्णकालिन कार्यकर्ता बन्न अलि दबाब दिन थालिसकेका थिए । बटौली बसाइ अलि असहज हुँदै आयो अनि दशैको छेको पारेर झोलिगुन्टा बोकि तम्घास फर्किए । हामी गुल्मी फर्किएपछी अचानक पासपोर्ट बुझ्ने अन्कल पनि सम्पर्क बिहिन भए । मेरो जहाज चढी बिदेश जाने सपना त्यही तुहियो । लामै समयपछि बल्लतल्ल पासपोर्ट फिर्ता त लिए । तर सक्कली शैक्षिक प्रमाणपत्रहरु फिर्ता आउन सकेनन,खोइ कहाँ हराए । एसएलसीका सक्कलि प्रमाणकहा। को प्रतिलिपीहरु अति जरुरी भएर २०६९ मा निकाल्न पर्यो ।बिदेश जानी दामपैसो कमाउने व्यापार गर्ने सपनाले गोलखाडी खायो । यो दुखियाको सपना बिपना हुन सकेन ।तम्घासमै प्रेसमा मजदुरी सुरु गरियो । एसएलसी पास गरेको ५ बर्षपछि फेरि ११ कक्षामा भर्ना भैयो ।बुटवल छाडेपछि माओबादी आन्दोलनका साथीहरूको संगत छुटेको थियो फेरि गुल्मिमा जोडियो । गुजारा चलाउन प्रेसको काम, पढाइलाइ निरंतरता अनि हल्काफुल्का राजनीति गर्दै अघि बढिरहियो । २०६४ को चुनाबपछि आफुले बिश्वास गरेको आफुले समय लगानी गरेको पार्टी माओवादी ठुलो दल हुँदै सत्तापक्ष बन्न पुग्यो । तर भुमिगतकालमा आफुले बुझेजस्तो पढेजस्तो माओवादी पार्टी रहन सकेन भन्ने ठम्याइ मेरो रहयो । रेसुङ्गा क्याम्पसमा स्नातक भर्ना भैसकेको थिए । फेरि स्थगित भएको वैदेशिक रोजगारीको भुत मनमा जाग्न थाल्यो । ं२ संगै पढेका प्रिय मित्र गणेश कुन्वर जि काठमाडौ हुनुहुन्थ्यो । यहाँ बसेर पार लागेन, पार्टीमा पनि नाताबाद कृपावाद हावी भो राम्रो काम र दाम हुनेतिर भिसा लगाउन परो भनेर लौन यार साथी भनेर उनै गणेश जि लाई भने । गणेशजि, खिमजि र निमजिको बसाई एकै कोठामा थियो । त्यो कोठामा म धेरै पटक बसेको छु । तिनैजना सङ्ग अत्यन्तै हार्दिकताको सम्बन्ध सदा रहिरहनेछ । वैदेशिक रोजगारको मामिलामा गणेश जि र म अलि आलाकाचो नै थियौ । गणेशजिले ताहाचल क्याम्पसको अखिल क्रान्तिकारिको नेता खगेन्द्र नेपाली सङ्ग मेरो बारेमा कुरा गर्नुभएछ । खगेन्द्र र म एकै समुदायको, एकै पार्टीको हुदा ठग्ने काम नहोला भन्ने बुझाइ हाम्रो थियो । प्लास्टिक कम्पनीमा इन्डोर काम मासिक कम्तिमा २८र३० हजार बचत हुने लागत १ लाख २० हजार भन्ने कुरा खगेन्द्रबाट आयो । म र गणेश जि सहमत भयौ । काम अगाडी बढाउन भनियो । २०६५ माघको कुरा हो । खगेन्द्रले भिसा आयो साथिलाइ बोलाउन भनेछ गणेशजिले खबर गर्नु भो । लागत एक लाख बीस हजारको जोगाड गरियो । दुई चारजोर लत्ताकपडा किनियो । भेटनुपर्ने आफन्त, इष्टमित्र साथिभाइ सबैलाई भेट गरियो । बाआमाको हातबाट टीका लगाएर साउदी जान घरबाट हिडियो । मेरो काठमाडौको बसाइ गणेश खिम सङ्ग नै हुन्थ्यो । निमजिले आफुले काम गर्ने होलसेल पसलबाट ३र४ जोर ट्रयाकसुट ल्याइदिनु भो ।निम जि अहिले प्रहरीमा हुनुहुन्छ । खिम जि नेकपा गुल्मिको सेक्रेटरी हुनुहुन्छ । गणेश जि संघीय समाजबादी ५ नम्बर प्रदेश बिशेश कमिटीको सम्योजक हुनुहुन्छ । तिनैजना मनको धनी साथी। काठमाडौ बसेको ३ दिन भैसकेको थियो भिसा लागेको पासपोर्ट र टिकट हात परेको थिएन । खगेन्द्रले पैसा मागेको मागी छ तर हामिहरु भिसावाला पासपोर्ट र प्लेन टिकट हात नपरी पैसा नदिनेमा एकमत थियौ । खगेन्द्र दलालको पनि दलाल रहेछ । खगेन्द्रले मरिगए मुख्य दलाललाई चिनाउदैन । काठमाडौ पुगेको चौथो दिन पैसा लिएर गौशालाको सगम होटेल आउनु कागतपत्र त्यही मिल्छ खगेन्द्रले खबर गर्यो । गणेश जि म गयौ । मुख्य दलाल भोजपुरको रहेछ । उचाइ साढे ६ फुट बढी ज्यान हेर्दै डरलाग्दो आर्मिको जागीर छोडेको रहेछ । कुराकानी गरियो भाइ सानै रहेछौ। एक लाख बीस हजारमा दुई हजार छुट भो भोजपुरे दलालले भन्यो । पैसा लिनेदिने कागज लेखाइयो तर कागजपत्र देखाउदैन । कागजपत्र नदेखाउदा हामिले पैसा दिएनौ, पैसा नपाउदाको रिस उस्को अनुहारमा स्पष्ट देखिएको थियो । भोलि १२ बजे आउनु २ बजे फ्लाइट छ सबै त्यतिबेला नै एकैपटक बुझ्ने भन्यो । अर्को्दिन खिम जि र म झोलासोला बोकेर गयौ त्यही पशुपति नजिक गौशालाको संगम होटेल । उनिहरु आएर बसिरहेका थिए । पासपोर्ट टिकट आउदै छ पैसा बुझम भन्यो हामिले पनि बिश्वास गरियो । नेपाली कागज मा तिनपुस्ते खुलाएर कागज गराइयो ल्याप्चे लगाइयो । १२ नबज्दै पुगेको २ बज्यो पैसा दिइसकियो तर एयरपोर्ट जाने कुरै गर्दैनन हामीलाई अलिअली शन्का लाग्यो । त्यतिन्जेलमा गणेश जि पनि आइसक्नु भएको थियो । दलालहरुको व्यबहार शन्कास्पद हुदै थियो । ४र५ जना अरु आउदै छन अनि यहाबाट दिल्ली जाने त्यहा १ हप्ता बसेपछि साउदी जाने भन्यो । म दिल्लीको बाटो कुनै हालतमा बिदेश जान्न पैसा र पासपोर्ट तुरुन्त दिन भनियो । दिल्लिको बाटो बिदेश जानेहरूको दुख पत्रीकामा नियमित पढेकै थिए । दुई घन्टा अगाडि दिएको पैसा पनि उस्ले खर्च भइसकेको छ पासपोर्ट दूतावासमा छ फिर्ता दिन सक्दिन दिल्ली जानुको विकल्प छैन पो भन्छ । गणेश, खिम र म तिनैजना माओवादी कार्यकर्ता थियौ । चुनावपछि ठूलो दल बनेको माओवादी को चुरिफुरी बढी नै थियो । अझ काठमाडौका दलाल म्यानपावरवालालाइ हायलकायल पार्ने वाइसीएलको उपत्यका इन्चार्ज गुल्मिबाट चुनाब जितेका सागर थिए। उपत्यका वाइसीएल टिम सङ्ग गणेशजिले सम्पर्क गरिसक्नु भएको थियो । साथीहरु होटेलमा आउन सुरु गरिहाले। खिमजिले पनि साउदिको भिसा प्रक्रिया सम्बन्धि बुझेका साथिलाइ बोलाइसक्नु भएको थियो । हामिहरु अब रक्षात्मकबाट आक्रामक तिर पुगिसकेका थियौ । म चुप रहे गणेशजि, खिमजिहरु बोल्न सुरु गर्नु भो । हामिले दिल्लीको बाटो पठाउदैनौ पैसा र पासपोर्ट दिने कि नदिने ? दलाल भन्छ म दिन सक्दिन । होटेलको गेटमा पनि साथीहरू बसिसकेको थिए । कोठामा हामिले नै घेरा हालेर निस्कन नसक्ने गराएका थियौ । भिसाको लागि पासपोर्ट क्युमा राखिएको तर कुनै काम सुरु नै भएको रहेनछ । तर उस्ले पैसा फिर्ता गर्दिन भन्यो ।दलालले अलि सामान्य नै सोच्या रहेछ खिम र गणेश अलि कडकिनु भो । हामी धेरै नै थियौ । सायद गणेश जिले नै होकि कडकिएर अब यसले सजिलोसँग दिदैन यसलाइ बालाजु क्याम्पमा ( वाइसीएलको क्याम्प बालाजु थियो) लगेपछि कि पैसा दिन्छ कि यस्को खुट्टा काटेर राखिन्छ भन्दा दलाल डरायो । दलालको बोली फेरिन लाग्यो ।नराम्रो हुनेथिएन दिल्लीबाट जादापनी राम्रै हुन्थ्यो तर भाइको जाने इच्छा नभएपछि जबर्ज्स्ति गर्दिन । साझ पर्नै लागेको थियो । एकलाख बीस हजार मा एकलाख दस हजार तुरुन्तै फिर्ता गर्यो । बाकी आठ हजार खगेन्द्रले लग्या छ भोलि १० बजेभित्र उस्ले नदिएमा जहाँ भन्नुहुन्छ त्यही आएर बुझाउछु भन्यो ।पासपोर्टको लागि एक हप्ता समय लाग्छ भन्यो उस्को कुरालाई मानियो । हामिहरु झोला बोकेर फेरि कोठामै फर्कियौ। खगेन्द्र गायब थियो अर्को्दिन बिहान ताहचल क्याम्पसमै आएर ८ हजार पनि बुझायो। पार्टीकै मान्छे अझ दलित समुदायको ब्यक्ति खगेन्द्रको बिस्वास गर्दा झन महादलाल को फेला परिएछ । यो घटनाले मलाइ त चोट दियो नै खिम गणेश जि लाई पनि पीडा दियो । उहाँहरुले अब यहि काठमाडौ बस्ने अर्को देशको लागि प्रक्रिया सुरु गर्ने भन्नु भो । तर मैले बिदेशको भुतलाई मनबाट निकालिदिए । अनि गुल्मी नै फर्किए । काठमाडौ जादा त्यो होटेल देख्दा २०६५ कै दिन झलझली सम्झिन्छु । फेरि पुरानै दिन सुरु भो प्रेस को जागिर, रेसुङ्गा क्याम्पस को पढाइ अनि ताइ न तुइको राजनीति । धोका खाएर फर्किदासम्म क्याम्पसमा स्वबियु चुनाबको रन्को थियो । क्रान्तिकारिबाट पदाधिकारीमा उठन पाइने निश्चित नै थियो । रेसुङ्गा क्याम्पसका क्रान्तिकारीको कोर टिम बसेर एक्लो प्यानलमा लडने भनेर सल्लाह गरियो जति मत आउछ त्यो शुद्ध मत हुन्छ भन्ने हाम्रो बिचार थियो । अरु सम्झना भएन तर बाबुराम सभापति म उपसभापति को उम्मेदवार सहित पोस्टर छाप्न प्रेसमा गैसकेको थियो । अचानक एमाले अखिल शीत तालमेल गर्ने निर्णय पार्टीले गरेछ । म उतिबेला पनि एमाले अखिल शीत कुनै हालतमा सहकार्य गर्नुहुदैन भन्ने लाइनमा थिए र अझैपनी यिनिहरुको सहकार्य मन पराउदिन । पार्टी नेताहरुले सभापति र उपसभापति एमाले अखिल, सचिब सहसचिव र कोषाध्यक्ष क्रान्तिकारिलाइ हुनेगरी भागबन्डा गरेछन । मन नलागी नलागी नेतृत्वको कुरा मानियो । बिदेश को मामिलामा त धोका खाइयो खाइयो स्वबियु चुनाबमा पनि नराम्ररी धोका खाइयो ।
१ हप्तामा फिर्ता दिन्छु भनेको पासपोर्ट महिना बर्ष बिते हात लागेन ।सायद कुनै मेनपावर कम्पनीको कुनोमा रहदा नै कुहिएहोला । पछि दलाल नै गायब भो ।२०६० मा ४ महिना बराबर को तलब खर्च गरेर बनाएको पासपोर्ट पहिलोपटक हराएर बल्लतल्ल हात लागेको थियो । २०६५ मा दलालको हातबाट फिर्ता आएन । २०७० माघसम्म समय अबधी भएको पासपोर्टलाई मैले खोजिनिती गर्न पनि छोडे ।आजभोलि सोच्छु म नाथेको पासपोर्ट हराउनु कौन सा बडि बात हो र । यहाँ बर्षको सरदर ७५० शब खाडी र मलेसिया बाट कफिन मा सुतेर आउछन । ती ७५० को जिबन हराएको छ सपना हराएको छ । तिनका जहान परिवारका सिउदोका सिन्दुर हराएको छ । तिनका लालाबालाका आडभरोसा र ओत हराएको छ । कफिनमा सुतेर आउने दर घटदो हैन बढदो छ । वैदेशिक रोजगारिले भौगोलिक दुरिसङ्गै मिलेका मन मुटु पनि हराएको छ । मेरो पासपोर्ट हरायो त हरायो तर यहाँ बडे बडे नीतिनिर्माता नेता र प्रशासकको इमान नैतिकता हराएको छ ।यहाँ कम्निस्टे आदर्श र सर्बहारापन को भाषण खुब छाटछन तर छोरिको बिहेमा भैंसी बाधने दाम्लो जत्रो सुनको सिक्री लगाइदिने आफ्ना कार्यकर्तालाइ भतेरमा हेर्न समेत निषेध गर्ने धेरै छन । कम्निस्टे आदर्श हरायो । देशकै शक्तिशाली प्रधानमन्त्री बस्ने बालुवाटार को सरकारी जग्गा त हराउदो रहेछ अरुको के कुरा गर्नु ! ३ वटा भक्तपुर जत्रो नेपालको जग्गा कालापानी लिम्पुयाधुरा तिर हराइसकेको छ त्यति धेरै जग्गा त हराउने देशमा म नाथेको गोजिमा अटने पासपोर्ट हराउनु स्वभाबिक नै हो । त्यसैले मैले साब’ मेरो पासपोर्ट हरायो भनेर कतै गुनासो गर्दिन ।
लेखक बिश्वकर्मा गुल्मी सदरमुकाम तम्घास निवासी हुन् ।