दाङ । दाङको बबई नदीमा नुहाउ गएका दुई किशोरी डुवेर वेपत्ता भएका छन् । आज दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १५÷१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४÷ १५ वर्षीया गोमा चन्द रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।
त्यस्तै बेपत्ता भएका किशोरीहरु संगै नुहाउन गएकी सोही ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक केसीले बताउनुभएको छ । केसीका अनुसार अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, ईलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।