दाङ । होटलमा नास्ता खान बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा भएका छन् ।
दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पिडितले दिएको उजुरीका आधारमा पक्राउ परेका घोराहीका ३२ बर्षिया सितादेवी थापालाई एक लाख ५० हजार , घोराहीकै ३५ बर्षिया खुमा वलीलाई ८० हजार र ३२ बर्षिया सुष्मा परियारलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।
त्यस्तै बार्गेनिङ गरेर एक पुरुषसंग उनीहरुले एक लाख नगद र थप १७ लाखको चेक समेत लिएको अवस्थामा प्रहरीले उनीहरुलाई गत भदौमा पक्राउ गरेको थियो भने असोज ३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध अपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्दा चलाएको थियो ।