Sidha Patra शुक्रबार, आषाढ १२, २०८३

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन् । भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन् ।

काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज सुनिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्प जमिनको सतहभन्दा कम गहिराइमा गएकाले क्षति निकै ठुलो भएको हो ।

विपत्तिपछि थुप्रै मानिसहरू मारिएको आशङ्का गरिएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । घरहरू असुरक्षित भएपछि मानिसहरू डरले सडकमै रात बिताइरहेका छन् । बुधबार स्थानीय समय अनुसार साँझ ६:०४ बजे राष्ट्रिय बिदाको दिन भूकम्प गएकाले सामान्य दिनमा भन्दा धेरै मानिस घरमै थिए ।

यूएसजीएसका अनुसार पहिलो भूकम्प जमिनको सतहबाट २०.३ किलोमिटर र दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रित थियो । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सङ्कटकाल घोषणा गरेपछि नेसनल एसेम्बलीका अध्यक्ष होर्गे रोड्रिगेजले बिहीबार मृतकको सङ्ख्या अझै बढेको जानकारी दिएका छन्।

पीडितहरूको उद्धार र राहतका लागि विभिन्न देशले सहयोगको प्रतिबद्धता जनाएका छन् । अमेरिकाले १५ करोड डलर सहायताको घोषणा गर्दै खोज, उद्धार र द्रुत राहत कार्यका लागि सैन्य जहाज र विमानहरू पठाउँदै छ। रोड्रिगेजका अनुसार मुख्य गरी ला गुइरामा २५० वटा भवनमा क्षति पुगेको छ वा ध्वस्त भएका छन्, जहाँ एउटा १० तले होटल पूर्ण रूपमा भत्किएको छ ।

राजधानी काराकासका साथै ट्रुहियो, याराकुई, काराबोबो,अरागुआ र मिरान्डा क्षेत्र पनि प्रभावित भएका छन् । काराकास महानगरभित्र पर्ने चाकाओका मेयर गुस्ताभो डुकले एउटा भत्किएको भवन अगाडि उभिएर ११ जनाको मृत्यु भएको र २३ जनालाई जीवितै उद्धार गरिएको बताएका छन् । भूकम्पका कारण माइकेटियास्थित भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेकाले बन्द गरिएको छ । राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार मुख्य भूकम्पपछि कम्तीमा ३० वटा पराकम्पहरू गइसकेका छन् ।

यूएसजीएसले यो प्राकृतिक विपत्ति निकै ठुलो क्षेत्रमा फैलिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना औँल्याएको छ । विगतका यस्तै भूकम्प र जनसङ्ख्याको अवस्था हेरेर १० हजार भन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४२ प्रतिशत र १ लाखभन्दा बढी पुग्ने सम्भावना ३३ प्रतिशत रहेको अनुमान गरिएको छ । भवनहरूको कमजोर गुणस्तर र भूकम्प गएको समयका कारण पनि मानवीय क्षति बढेको हो ।

विद्युत् आपूर्ति बन्द हुनुका साथै इन्टरनेट सेवा अवरुद्ध भएकाले क्षतिको वास्तविक विवरण सङ्कलन गर्न गाह्रो भइरहेको छ । काराकासका अल्तामिरा र लस पालोस ग्रान्डेस क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । सन् १९६७ मा गएको ठुलो भूकम्पमा पनि यी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका थिए र त्यतिबेला २०० जनाको ज्यान गएको थियो । युएसजीएसको रेकर्ड अनुसार सन् १९०० यता भेनेजुएलामा गएको यो नै सबैभन्दा शक्तिशाली भूकम्प हो । यो भूकम्पको धक्का सयौँ किलोमिटर टाढा कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो ।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माछाडोले दुःखको यस घडीमा सबै भेनेजुएली परिवारका लागि प्रार्थना गरेकी छन् । उद्धार टोलीहरू जीवित नागरिकको खोजीमा लागिरहेका छन् र यस कार्यमा अमेरिका, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, मेक्सिको र कतारले सहयोग गरिरहेका छन् । गत जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले निकोलस मादुरोलाई पक्रने आदेश दिएपछि अमेरिका र भेनेजुएलाबीचको सम्बन्धमा आएको परिवर्तनको यो पहिलो परीक्षा हो । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भनेका छन्, ‘भेनेजुएलामा गएका दुवै भूकम्प निकै शक्तिशाली छन् र यसले ठुलो क्षति पुर्‍याएको छ, अमेरिका सहयोगका लागि तयार छ ।’ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि अमेरिकाले तुरुन्तै खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता परिचालन गरिरहेको बताएका छन् ।एजेन्सी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]