
Rgp
Asbus
Ggp
Ggp
Ksbus
Sdc
Ksbus
Msbus
Lnp


दाङ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तुलसीपुरमा विद्यार्थी लक्षित लागू औषधविरुद्ध सचेतनामूलक सम्बन्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
“लागू औषध चुनौती चिनौँ, सामाजिक बाटो खोजौँ” भन्ने नारासहित तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा तुलसीपुर–१९ स्थित नयाँ पाइला पुनर्स्थापना केन्द्रको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीलाई लागू औषधको दुरुपयोगका असर, त्यसको रोकथाम तथा पुनर्स्थापनाका उपायबारे जानकारी गराइएको थियो ।
नयाँ पाइला पुनर्स्थापना केन्द्रका मनोपरामर्शकर्ता शैलेश शर्माले लागू औषध दुर्व्यसनका कारण, त्यसबाट हुने शारीरिक,मानसिक तथा सामाजिक असर र समाधानका उपायबारे प्रशिक्षण दिएका थिए । उनका अनुसार दुर्व्यसनमा फसेका व्यक्तिमा विद्यालय छोड्ने,नियमित कक्षामा अनुपस्थित हुने, समयको दुरुपयोग गर्ने,शारीरिक पीडा तथा अत्यधिक र्याल आउनेजस्ता लक्षण देखिन सक्छन् । किशोरावस्थाको उत्सुकता,गलत साथीको संगत तथा पारिवारिक र सामाजिक वातावरणले पनि युवालाई दुर्व्यसनतर्फ धकेल्न सक्ने उनले बताए ।
मनोपरामर्शकर्ता शर्माले अल्कोहल लगायतका पदार्थको दुरुपयोगले स्नायु प्रणालीमा गम्भीर असर पार्ने र विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य सम्बन्धी गम्भीर समस्याका रूपमा लिएको जानकारी दिए । समयमै उपचार, मनोपरामर्श तथा सामाजिक सहयोगबाट दुर्व्यसन न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रमले विद्यार्थीमा लागू औषधविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको आयोजकले जनाएको छ । शिक्षालयका प्रमुख वसन्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख गोपाल रेग्मीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक केपी न्यौपानेले गरेका थिए । नयाँ पाइला पुनर्स्थापना केन्द्रले प्रत्येक वर्ष यसैगरी विभिन्न निकायसंग सहकार्य एवम् समन्वय गरि लागूऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सो केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए ।
