Sidha Patra सोमबार, भाद्र १४, २०७८

काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् ।

कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड-२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।

‘महामारीमा कसरी परीक्षा सञ्चालन गर्ने भनेर मापदण्ड बनाएका छौं, महामारी फैलिन नदिने गरी परीक्षाहरु हुन्छन्,’ भुसालले भने ।

महामारीमा सुरक्षित परीक्षा

परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिˆटमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।

प्रश्नोत्तर संग्रहबाटै परीक्षा

अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

आफ्नै सवारीमा ट्रायल

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको हि्वल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर हि्वल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।

ट्रायलमा अंकभार

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ ले लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेको छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

मोटरसाइकल/स्कुटरको ट्रायल

मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।

१. घुमाउरो ‘8’

मोटरसाइकलको ट्रायलमा अब घुमाउरो ‘8’ को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।

२.साँघुरो फलेक

साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुत्तीर्ण भने हुने छैन ।

५. उबड–खाबड (बम्प्स)

उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुवै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

६. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द भए पनि अंक काटिने छैन ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]