दाङ । तुलसीपुुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बेसहारा बालबालिकालाई परिवारसंग पुर्नमिलन गराउन थालेको छ । विभिन्न कारण अभिभावकबाट टाढा भएका बालबालिकालाई परिवारको जिम्मा लगाउन थालिएको हो ।
शाखाको समन्वयमा सात जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का निश्चल चौधरी, अमृत बिसी, शारदा बुढाथोकी, अनिषा भुजेल, अर्थराज भुजेल, तुलसीपुर–१८ भट्टेकुलाका रमेश बोहरा र सन्तोष बोहरालाई अभिभावकको जिम्मा लगाएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
गतवर्ष चैत्र १७ गते बिजौरीमा रहेको असहाय बालविकास नेपालबाट उद्धार गरिएका बालबालिकालाई पछिल्लो समय अभिभावकसंग पुनर्मिलन गराउने काम भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । बालबालिकालाई पढाउने र पालनपोषण सहि ढंगले गर्ने सचेतना सहित अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो ।
उद्धार गरिएका १५ बालबालिकामध्ये १ जनालाई सोमबारमात्रै अभिभावकको जिम्मा लगाइएको र सात जनालाई हिजोमात्रै अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो । उद्धार गरिएका बालबालिकामध्ये बाँकी सात जना बालबालिकालाई पनि परिवारसंग मिलन गराउने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।