
Ksbus
Msbus
Rgp
Lnp
Ggp
Asbus
Sdc
Ksbus
Ggp

दाङ । जेन्जी सहिद दिवसको अवसरमा गुरुकुल एकेडेमी लमहीले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै गढवा बजारमा सरसफाइ तथा सडक सुरक्षा सचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका शिक्षक तथा विद्यार्थीले बजार क्षेत्र सरसफाइ गर्नुका साथै सवारी साधनमा रातको समयमा टल्किने स्टिकर टाँसेर दिवसलाई सिर्जनात्मक र नमूना कार्यका रुपमा मनाएका हुन् । गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख तथा प्रहरी निरीक्षक साहिल बुढाथोकी र गढवा उद्योग वाणिज्य संघघका अध्यक्ष ओमप्रकाश बसेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक साहिल बुढाथोकीले विद्यार्थीले दिवसलाई केवल औपचारिक कार्यक्रमका रुपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु सकारात्मक र अनुकरणीय कार्य भएको बताए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक,विद्यार्थी तथा आम नागरिक सबै सचेत हुनुपर्ने भन्दै सवारी साधनमा टल्किने स्टिकर टाँस्ने अभियानले रातको समयमा सवारी साधनको दृश्यता बढाउन सहयोग पुग्ने बताए ।
त्यस्तै,गढवा उद्योग वाणिज्य संघघका अध्यक्ष ओमप्रकाश बसेलले विद्यालयले विद्यार्थीलाई सामाजिक कामसँग जोड्दै समुदायमै आएर सञ्चालन गरेको सरसफाइ तथा सडक सुरक्षा अभियान प्रशंसनीय रहेको बताए । उनले विद्यालयले ‘समाजसँग गुरुकुल’ भन्ने नारालाई व्यवहारमै कार्यान्वयन गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक भावना,अनुशासन र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । बजारको सरसफाइ र सडक दुर्घटना न्यूनीकरणका लागि गरिएको अभियानले स्थानीय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो ।
विद्यालयले समाजसँग गुरुकुल’ भन्ने नारालाई व्यवहारमै कार्यान्वयन गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक विवेक देवकोटाले बताए । उनका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी समाज र समुदायसँग जोडेर जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । विशेषगरी रातको समयमा सवारी साधन दुर्घटनाको जोखिम बढी हुने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले सवारी साधनमा टल्किने स्टिकर टाँसिएको विद्यालयले जनाएको छ । सडकमा सवारी साधनको दृश्यता बढाउन सहयोग गर्ने भएकाले यस्तो अभियानले चालक तथा पैदल यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी विद्यार्थी,शिक्षक तथा सहभागीहरुले गढवा बजार क्षेत्रको सरसफाइ गर्दै स्वच्छ बजार र स्वस्थ समाज निर्माणका लागि सरसफाइको महत्वबारे समेत सचेतना फैलाएका थिए । कार्यक्रममा गुरुकुल एकेडेमी लमहीका शिक्षक तथा विद्यार्थी,इलाका प्रहरी कार्यालय गढवाका प्रहरी कर्मचारी, ट्राफिक प्रहरी कार्यालय गढवाका प्रतिनिधि,गढवा उद्योग वाणिज्य संघघका अध्यक्ष, समाजसेवी,बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो । दिवसका अवसरमा गरिएको कार्यक्रमले विद्यार्थीमा सामाजिक जिम्मेवारी,सडक सुरक्षा र सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको सहभागीहरुले बताएका छन् ।
कार्यक्रम सम्पन्न भएपछि गुरुकुल एकेडेमीका विद्यार्थीले इलाका प्रहरी कार्यालय गढवाको समेत अवलोकन गरेका थिए । अवलोकनका क्रममा विद्यार्थीले प्रहरी प्रशासनको काम,प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा,शान्ति सुरक्षा कायम गर्न प्रहरीले निर्वाह गर्ने भूमिका तथा विभिन्न प्रशासनिक कामकारबाहीका विषयमा जानकारी हासिल गरेका थिए । विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।
