
Ggp
Lnp
Ksbus
Sdc
Asbus
Msbus
Ggp
Ksbus
Rgp

हुम्ला । सडक विभागले हिमाली जिल्ला हुम्लाका कर्णाली नदी तथा अन्य सहायक नदीमा १२ वटा नयाँ पक्की पुल निर्माण गर्ने भएको छ।
जिल्लाका विभिन्न गाउँपालिकाका बस्ती सडक सञ्जालबाट जोडिन नसकेको तथा कतिपय स्थानमा नदीमा पुल नहुँदा यातायात सञ्चालनमा समस्या भएपछि नयाँ पुल निर्माण गर्न लागिएको हो।
हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार अत्यावश्यक रहेका स्थानमा पुल निर्माण गरिनेछ। गाउँपालिकाले सडक निर्माण गरे पनि कर्णाली नदीमा पुल नहुँदा कतिपय सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।
निर्माण हुने पुलमध्ये अदानचुली गाउँपालिका–६ को पाल्स गाउँ जोड्ने कालागाड पुल, सिमकोट गाउँपालिका–८ को खोल्सी–याङ्गु जोड्ने गुरगुरेर पुल, नाम्खा गाउँपालिका–६ को लिमीस्थित तिल्जुङ खोला पुल, तुम्लिङको लिङ खोला पुल, नाम्खा–५ र ६ जोड्ने बुम्बे खोला पुल तथा लिमीको लाप्चा खोला पुल रहेका छन्।
त्यस्तै, नाम्खा गाउँपालिका–४ को याल्वाङ–पुईया जोड्ने कर्णाली नदी पुल, सर्केगार्ड गाउँपालिकाको केन्द्रमा पुल, खार्पुनाथ गाउँपालिका–१ र २ जोड्ने कर्णाली नदी पुल, खार्पुनाथ गाउँपालिका केन्द्रबाट वडा नम्बर ४ जोड्ने याङचुवगरस्थित कर्णाली नदी पुल, हुम्ला–मुगु जोड्ने नेरघाटस्थित कर्णाली नदी पुल र नाम्खा गाउँपालिका–३ को खगलगाउँ जोड्ने कर्णाली नदी पुल निर्माण गरिनेछ।
प्रमुख नेपालीका अनुसार अब ती पुलहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा लागत इस्टिमेट तयार गर्ने काम सुरु हुनेछ। पुल निर्माणका लागि फाइल तयार गरी लागत तय भएपछि स्रोत सुनिश्चित गरिनेछ।
हाल कतिपय स्थानमा काठे पुलबाट यातायात सञ्चालन भइरहेको छ भने कतिपय ठाउँमा पुल नै निर्माण भएका छैनन्। पुल अभावकै कारण सडक निर्माण भए पनि बस्तीहरू सडक सञ्जालसँग जोडिन सकेका छैनन्। विशेषगरी लिमीका नदीमा पुल नहुँदा वर्षायाममा यातायात सेवा बन्द हुने गरेको छ।
यी १२ वटै पुल निर्माण भएपछि हुम्लाका सबै बस्ती सडक सञ्जालसँग जोडिने अपेक्षा गरिएको छ।
हिल्सा–सिमकोट सडक योजनाले हाल विभिन्न चार शीर्षकअन्तर्गत काम गर्दै आएकोमा चालु आर्थिक वर्षदेखि पुल निर्माणको कामसमेत थपिएको छ।
