
Msbus
Ksbus
Rgp
Ggp
Asbus
Lnp
Ggp
Ksbus
Sdc

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे संसद्लाई जानकारी गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुरुङभित्रको जटिल भौगोलिक तथा प्राविधिक अवस्थाका कारण उद्धार चुनौतीपूर्ण बनेको बताए।
उनका अनुसार बाढीसँगै आएको लेदो र माटोले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारमा कठिनाइ भएको हो। उनले सुरुङमा फसेकाको अवस्था सामान्य पहिरोमा उद्धार गर्ने अवस्थाभन्दा फरक रहेको बताए।
‘सुरुङमा आएको यो विपत्ति अन्य सामान्य पहिरोभन्दा फरक छ। विश्वभर नै सुरुङमा पहिरो जाँदा उद्धार गर्ने विज्ञता भए पनि, यस पटक बाढीसँगै आएको लेदो र माटोले सुरुङलाई पूर्ण रूपमा थुनेको छ,’ उनले भने।
प्रधानमन्त्री शाहले सुरुङभित्र जमेको लेदोमा उद्धारकर्मीसमेत टेक्न सक्ने अवस्था नरहेको बताए। ‘त्यहाँको हिलो र लेदो यति धेरै छ कि न त स्काभेटरहरू अडिन सक्छन्, न त हेलिकप्टर ल्यान्ड गर्न नै सहज छ,’ उनले भने।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर प्रयास गरिरहेको भए पनि प्राविधिक कठिनाइका कारण तत्काल सुरुङभित्र प्रवेश गर्न सम्भव नभएको उनको भनाइ छ।
सुरुङमा फसेकाको उद्धारका लागि भारत, चीन र कोरियाका प्राविधिक विज्ञ टोलीसँग पनि निरन्तर समन्वय भइरहेको प्रधानमन्त्रीले जानकारी दिए। विज्ञ टोलीले हवाई मार्गबाट घटनास्थलको रेकी गरिसकेको र मौसम अनुकूल भएपछि तथा सुरुङभित्रको लेदो केही सुकेपछि मात्रै सुरक्षित रूपमा प्रवेश गर्न सकिने सुझाव दिएको उनले बताए।
सुरुङ उद्धारमा भइरहेको ढिलाइलाई लिएर सामाजिक सञ्जाल तथा जनस्तरबाट उठेका गुनासोप्रति सरकार सचेत रहेको बताउँदै प्रधानमन्त्री शाहले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिकलाई हतोत्साहित नगर्न आग्रह गरे।
‘जनताको गुनासो र विचलित अवस्थालाई हामीले बुझेका छौँ । तर यो बिल्कुलै फरक र जटिल प्राविधिक अवस्था हो । यस्तो बेलामा उद्धारमा खटिएका सुरक्षाकर्मी र प्राविधिकहरूलाई हतोत्साहित गर्नुभन्दा प्रोत्साहन दिन म सबैलाई अनुरोध गर्दछु,’ उनले भने।
प्रधानमन्त्री शाहले बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरका ८ वटा सञ्चालित र ४ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको पनि जानकारी दिए।
उनका अनुसार बाढीबाट विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा २८१ मेगावाट र निर्माणाधीन ४ वटा आयोजनामा ३८८ मेगावाट क्षति पुगेको छ। बाढीका कारण कुल ४ हजार ३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनले बताए।
‘जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र ठूलो लगानी लाग्ने देखिएको छ,’ प्रधानमन्त्री शाहले भने।
उनले नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए। त्यस्तै, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको उनले बताए।
सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले जनाएका छन्।
