भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘घुमौं सौराहा,चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताए ।
उहाँले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । `लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ´ उनले भने, `चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा विकास गरेर अघि बढ्न सकिन्छ ।´उनले व्यवसाय क्षेत्रको विकासका लागि प्रदेश सरकार अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाे बताए ।
त्यस्तै कार्यक्रममा सौराहाको विशेषता प्रस्तुत गर्दै सौराहामा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिइएको जानकारी गराइएकाे थियाे । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवन सौराहाको अगुवाइमा विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको चितवनको सौराहामा हात्ती चढेर गैंडा हेर्न पाइने भएकाले यहाँ स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढिरहेको छ । कोरोना कालपछिको अवस्थामा पर्यटन उद्योगलाई पुनर्जीवन दिन स्वदेशी पर्यटकहरूको साथ खोजिएको जनाइएकाे छ ।
त्यस्तै चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने प्रमुख प्रवेशद्वारको रूपमा चिनिएको छ । राप्ती नदीको किनारमा अवस्थित सौराहामा वार्षिक झन्डै ४ लाख पर्यटक आउने गरेकाे विवरण सार्वजनिक गरिएको छ ।