दाङ । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता भएका थिए ।
जस मध्ये १ सय नौ वटा विवाद फर्च्योट गरेको र १५ वटा विविद मिलाउनको लागि दुबै पक्षहरु संग छलफल चलिरहेको गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो । त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप २६ वटा विवाद गरि कुल १ सय २४ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक चौधरीले बताउनुभयो । गढवा गाउँपालिकाको न्यायिक समितिमा सबै भन्दा बढी जग्गाको वादविवादको उजुरी पर्ने गरेको संयोजक चौधरीले बताउनुभयो ।
सा-सानो विषयमा समेत ठुलो विवाद हुने गरेको तर न्यायिक समितिले जटिल विवाद समेत मिलाउने गरेको बताउनु भयो । न्यायिक समितिले १८ बर्ष सम्म पनि मिल्न नसकेको विवाद समेत सहजै फर्च्यौट गरेको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७९/०८० जग्गा विवाद सम्बन्धी ४५ वटा उजुरी दर्ता भएका थिए जस मध्ये ४१ वटा उजुरीको मेलमिलाप गराई फर्च्योट भएको छ । त्यसैगरी विवाह सम्बन्धी ७ वटा उजुरी परेको थियो जस मध्ये ६ वटा उजुरी फर्च्योट भएको छ। त्यसैगरी लेनदेन सम्बन्धी विवाद ३२ वटा उजुरी परेको थीयो भने ३१ वटा उजुरी मेलमिलाप बाटै फर्च्योट भएको छ। त्यसैगरी अंश विवादमा २८ वटा र विविधमा १२ वटा उजुरी दर्ता भएको थियो ।
त्यस्तै गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०७९/०८० मा परेको जम्मा उजुरी सहित कुल १ सय २४ उजुरी मध्ये १ सय नौ उजुरी फर्च्योट गरिएको छ भने १५ वटा उजुरीको बारेमा छलफल चलिरहेको र केही समयमा फर्च्योट हुने बिश्वास न्यायिक समितिको रहेको न्यायिक समितिका सदस्य देविलाल थारु कुमाल बताउनुभयो। न्यायिक समितिले आर्थिक वर्षको असार २९ गतेसम्म मेलमिलापको माध्यमवाट ती विवादहरु निरुपन गरेको जनाएको छ ।
यस्तै हालसम्म ४ वटा मुद्दा इलाका प्रहरी कार्यालयमा सिफारिस गरिएको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा पठाईएको ३वटा ,अन्य निकायमा सिफारिस गरिएको संख्या ३२वटा , मिलापत्र भएको ४१ र आदेश तथा निर्णयबाट भएको २९ वटा मुद्दाहरु रहेको गढवा गाउँपालिका न्यायिक समितिले जानकारी दिएको छ । गाउँपालिकामा उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ । जसको सदस्यहरुमा वडा नं १ का वडा सदस्य देविलाल थारु कुमाल, ७ नम्वर वडा सदस्य रेखा थापा रहनु भएको छ। त्यसैगरी उजुरी प्रशासकमा शुरेश पौडेल रहनु भएको छ।