दाङ । किशोरकिशोरीहरुका लागि चार दिने करिएर र जीवनकौशल कार्यशाला गढवा–५, चैनपुरमा सम्पन्न भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा सम्पन्न उक्त कार्यशाला किशोरकिशोरीहरुलाई सो अवस्थामा सही मार्गनिर्देशन गर्ने उदेश्यका लागि संचालन गरिएको थियो ।
विद्यालयहरुमा यस्ता अतिरिक्त कुराहरू नसिकाइने तर यस्ता खालका कार्यशालाले उनीहरुको भबिष्यका लागि सही बाटोमा मार्गनिर्देशन गर्नुका साथै भबिष्यको योजना बनाउने र लक्ष्यसम्म पुग्न सहयोग मिल्ने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिनुभयो ।
राजपुर–२ चप्फा निवासी स्नेहा नेपालीले आफूले यस वर्ष एसइइको परीक्षा दिएको र यस कार्यशालाले आफूलाई लक्ष्य बमोजिम योजना बनाउन सहयोग पुगेको बताइन् । त्यस्तै गढवा–५, लोखरपुर निवासी श्रीसा चौधरीले यस कार्यशालापश्चात आफूलाई भविष्यमा पेशा छनोट गर्न सहज हुने बताइन् ।
यस कार्यशाला मार्फत भविष्यमा कस्तो पेशा कसरी, कहाँ खोज्ने, कार्ययोजना कसरी बनाउने, बित्तीय साक्षरताका बारेमा विभिन्न क्रियाकलापहरू द्धारा सहभागीहरुलाई प्रशिक्षण दिईएको थियो । यसका साथै सहभागिहरुलाई राम्रोसँग अध्ययन गर्न र आफूमा भएको क्षमतालाई प्रस्फुटन गर्न सकारात्मक परिवर्तनका लागि प्रशंसनीय खोज पद्धती समेत सिकाइएको थियो ।
तालिममा सिपी नेपालबाट शैक्षिक सहयोग पाइरहेका कक्षा ९ र १०, ११ र १२मा अध्ययनरत विभिन्न विद्यालयका ३२ जना किशोरकिशोरीले सहभागिता जनाएका थिए । जेठ ३१ गते देखि असार ३ गतेसम्म संचालन भएको कार्यशालामा हिरा निरौला र मुनमाया रावलले प्रशिक्षण दिनु भएको थियो ।