दाङ । सरकारी बिद्यालयहरुको शैक्षिक अबस्थामा ब्यापक सुधार गर्न मंगलबार गढवा गाउँपालिकामा बृहत छलफल भएको छ ।
नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल र उपाध्यक्ष शारदा कुमारी चौधरी समक्ष गाउँपालिकाका सबै सरकारी बिद्यालयका प्रधानाध्यापकहरुले आ–आफ्ना बिद्यालयहरुका समस्याहरु राख्नु भएको हो ।
यसैगरी कार्यक्रममा सरकारी बिद्यालयहरुका बिद्यार्थीहरुलाई शुरक्षित आवागमनका लागि यातायातको ब्यवस्थापन, स्वयंसेवक शिक्षकहरुको पारिश्रमिकमा बृद्धि,हावा हुरीले छाना उडाएका बिद्यालयहरुको भौतिक निर्माण,बिद्यलयहरुमा शौचालय तथा खानेपानीको दिर्घकालिन ब्यवस्थापन लगायतका समस्याहरु प्रअहरुले राख्नुभएको थियो ।
गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा नवनिर्वाचित अध्यक्षको निर्देशन बमोजिम सरकारी बिद्यालयहरुमा रहेका शैक्षिक समस्याहरुको पहिचान र त्यसको संबोधनकालागि यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पोखे्रलले बताउनुभयो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष उपाध्यक्षहरुलाई बिद्यालयका प्रधानाध्यापकहरुद्धारा स्वागत सम्मान गरिएको छ भने बिद्यालयहरुमा मौजुदा शैक्षिक समस्याहरुका बारेमा बृहत अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखे्रलले शिक्षा क्षेत्रमा ब्यापक सुधार गर्ने र सरकारी बिद्यालयहरुमा रहेका समस्याहरुलाई पहिचान गरि दिर्घकालिन र अल्पकालीन ठोस योजनाहरु बनाएर क्रमागत रुपमा समाधानको प्रकृयातर्फ अगाडी बढ्ने बताउनु भएको छ । हावाहुरीले छानो उडाएका बिद्यालयहरुको तत्काल भौतिक निर्माण गर्ने, बिद्यालयहरुमा प्रयोगबिहिन अवस्थामा रहेका शौचालयहरु र खानेपानीको उचित ब्यवस्थापन यसै बर्षदेखि सुरुवात गर्ने र हरेक बिद्यालयहरुमा वालमैत्री शौचालयको समेत ब्यवस्थापन गर्ने अध्यक्ष पोखे्रलले बताउनुभयो ।
सरकारी बिद्यालयहरुमा पठन–पाठनको गुणस्तर बृद्धि गर्न बिद्यालयका प्रअहरुको सल्लाह सुझाव बमोजिम कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र सो को लागि सबैको समन्वय र सहकार्यको आवश्यकता रहकोे उहाँले बताउनुभयो । सबै बिद्यालयका प्रअहरुले बिद्यालय प्रशासनलाई शसक्त ढंगले अगाडी बढाएमा शैक्षिक गुणस्तरको बिकास हुन सहज हुने भन्दै गाउँपालिकाको तर्फबाट अनुगमन र नियमनको पाटोलाई पनि प्रभावकारीता दिने अध्यक्ष पोखे्रलले बताउनुभयो । शिक्षण सिकाईको नयाँ प्रबिधिमा वर्तमान शिक्षकहरुले पनि ध्यान दिन आवश्यक रहेको र अगे्रजी माध्यमलाई अनिवार्य गराई शिक्षण सिकाईलाई प्रभावकारीता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले प्रअ हरुबाट आएका सुझावहरु बमोजिम कार्यक्रम र निती बनाएर गढवाको शिक्षा क्षेत्रलाई प्रभावकारीता दिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बिभिन्न बिद्यालयका प्रअहरु रामसुरत यादव,लालबहादुर भण्डारी, राजितराम यादव,ताराप्रसाद ढुंगाना,शोभाराम यादव,गोबिन्द केसी,सुर्यप्रकाश बर्मा,उदयराम बर्मा,बासुदेव बेल्बासे लगायतले शैक्षिक समस्याहरु राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक ले गर्नुभएको थियो ।