दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशले आसन्न स्थानीय तहको निर्वाचनका लागि लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।
जसमा लमही नगरपालिकाको नगर प्रमुखको लागि जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले टिकट पाउनु भएको छ । नगरपालिकाको प्रमुख पदका लागि नेपाली काङ्ग्रेसबाट एक दर्जन बढी नेताहरु रेसमा हुनुहुन्थ्यो अन्तिममा चौधरीको नाममा टुंगो लागेको हो । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय समितिका प्रवक्ता प्रज्ञान न्यौपानेले भन्नू भयो ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय समितिको बैठकले आइतबार अबेरसम्म छलफल गरि लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुङो लगाएको प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो ।
प्रमुखमा टिकट पाएका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुल बहादुर केसीसंग पराजित हुनु भएको थियो । यो पटक हुन लागेको निर्वाचनमा चौधरीसंगै अन्य नेताहरु पनि टिकटका लागि दौडधुपमा रहनु भएको थियो । नेपाली काङ्ग्रेसका नेता बासुदेब जंगली, मोहन गिरी, कर्ण बहादुर बुढाथोकी,राकेश पन्त, लिलाराम खनाल पनि टिकटका आकांक्षि रहनु भएको थियो ।
त्यस्तै उपप्रमुखमा लक्ष्मी योगी, गंगा चौधरी, गीता चौधरी अधिकारीको नाम चर्चामा थियो । योगी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियासिल रहदै आउनु भएको छ ।