दाङ । घोराही उपमहानगरपालिकाले वडा स्तरीय मेलमिलाप कर्ताहरुलाई कानुनी ज्ञान, बिबाद मेलमिलाप गर्ने तरीका सँग क्षमता र नेतृत्व विकासका लागि तालिम दिन थालेको छ । उपमहानगरपालिकाको कानुनी मामिला शाखाले आज देखि घोराहीमा ८ दिने तालिमको आयोजना गरेको हो ।
नगरका १९ वटै वडाको मेलमिलाप केन्द्रमा सूचिकृत ५० जना मेलमिलापकर्ताहरुलाई सहभागि गराई तालिम दिन थालिएको शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले जानकारी दिनुुभयो । तालिमको उद्घाटन गर्दै नगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेले गाउँको विवाद गाउँमै मिलाउने गरी मेलमिलाप कर्ताहरुलाई कानुनी ज्ञान र सिप दिईन थालेको बताउनुुभयो ।
शान्तिपूर्ण र सभ्य समाज निर्माणका लागि मेलमिलाप ककर्ताहरुको भूमिका अहम हुने उहाँको भनाई छ । सकारात्मक सोचले मात्रै सभ्य र शान्त समाज बन्ने भन्दै उहाँले घटनाको विश्लेषण गरि सचेतनाका गतिविधीहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले मेलमिलापकर्ताको सामाजिक दायित्व र भूमिका अहम रहने बताउनुुभयो ।
तालिमको प्रशिक्षकमा अधिबक्ता अर्जुनकुमार अधिकारी र रोहित चौधरी रहेका छन् । तालिममा उनीहरुले संविधानमा भएका कानुन, दण्ड, जरीवाना, न्याय स्थापितका लागि मेलमिलाप कर्ताको भूमिका के हुने, दुबै पक्षको जित कसरी गराउने र क्षमता एव नेतृत्व विकास कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिने छन् ।