बाँके । आज देशका धेरै ठाउँहरुमा बर्षा भइ रहदा लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
यस्तै बाँकेको नेपालगन्जमा पनि असिनासहितको पानी परेको छ । यो पटकको हिउँदे वर्षामा असिना परेको पहिलो पटक हो । हिजोदेखि मौसममा आएको अचानकको परिवर्तनले चिसो ह्वात्तै बढेको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार आज केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने छ। आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ ।
आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् शाक्यले जानकारी दिनु भयो । अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यही प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात भइरहेको पाइएको छ ।