काठमाडौं । चीनमा उपचाररत रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएर उहाँ आज नेपाल आउन लागेको अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ । दिपेशले सामाजिक सञ्जालमार्फत नेता पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको थियो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश आज फर्किन लाग्नु भएको हो ।
त्यस्तै पुन माओवादी केन्द्रको एक महासचिवको दाबेदार हुनुहुन्छ । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सार्नु भएको बताउनु भएको थियो । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ ।
यस्तै अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी हुनुहुन्छ ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकता अनुसार केन्द्रीय समितिले पदाधिकारीको सङ्ख्या थपघट गर्न सक्ने व्यवस्था पनि पार्टीको रहेको छ ।