काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल
गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ ।
बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरु गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो ।अनलाइनखबर