कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका ३ जना गोताखोर प्रहरीहरुलाई सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्की, सशस्त्र प्रहरी जवान हरिश भट्ट र सशस्त्र प्रहरी जवान तिलक लामालाई जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गर्नु भएको छ ।
त्यस्तै मिति २०७८/०५/१८ गते दिउँसो कैलाली जिल्ला गोदावरी नगरपालिका-१ बस्ने बर्ष १० र १४ का दुई जना बालकहरु बेपत्ता भई खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा निजहरुको कपडा फेला परे पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती २३:३० बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरी निजहरुको शव उद्दारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशिलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै निजहरुको उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरुप प्रशंसा-पत्र प्रदान गरिएको हो ।
यस्तै कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसंगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको बताउदै यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुंदै जाने विश्वास व्यक्त गरेका छ्न ।