दाङ । देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पुरा नगरेर काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्धी गरिएको स्थलमा ४ सय ८३ क्यूफिट बढी काठ कटान गरेको भेटिएको छ भने कटान गरेको स्थानमा भने अझै केही काठ रहेको बुझ्नमा आएको छ । अवैध काठ कटानको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि बुधवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत घटनाबारे जानकारी लिउनु भएको छ । काठ कटानमा संलग्नहरुको पहिचानगरी कानुन वमोजिम कारबाही प्रक्रिया अघि बढाउन देउखुरी डिभिजन वन कार्यालयका प्रमुखलाई निर्देशन दिएको कुरुम्वाङले जानकारी दिनु भयो ।
त्यस्तै यता डिभिजन वन कार्यालयले काठ कटानको लागि सहमती दिनुपर्ने कानुनी प्राबधान छ । सामुदायीक वन उपभोक्ता समुहले वन कार्यालयको सहमती नलिएर रुख काटिएको भेटिएकाले अहिले अनुसन्धान थालिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीले बताउनु भएको छ । गत साउन २५ गते वडा कार्यालय छेउँको खाली जग्गामा काठ घाटगद्धी गरेपछि काठ कटानको रहस्य खुलेको हो । बेला सव डिभिजन वन कार्यालयले बरामद मुचुल्का तयार पारेर रेखदेखको जिम्मा सामुदायीक वन समुहलाईनै लगाएको थियो । सामुदायीक वन उपभोक्ता समुहले भने उपभोक्ताको भेला र सहमती गरेर ढलापढा रुखहरु कटान गरेर सार्वजनिक स्थलमा डम्पिङ्ग गरेको बताएको छ । उपभोक्तालाई वितरणको लागी कोरिया खोलाले बगाएको आगलागीमा परेर जलेका रुखहरु कटान गरेर काठ सुरक्षीत गरेको दावी गरेको छ ।