टेकबहादुर पुन बिहिबार, भाद्र २५, २०८३

टेकबहादुर पुन / दाङ । देउखुरीको लमही-५,रातोडाँडा स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालनमा रहेका बैंक खाताहरु धमाधम बन्द भएपछि संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कारोबार प्रभावित भएको छ ।

संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा सञ्चालनमा रहेका खातामध्ये पछिल्लो पटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खाता समेत बन्द भएको छ । संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी व्यक्तिगत बैंकिङ कारोबारका क्रममा कालोसूचीमा रहेको नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख भएपछि संस्थाका बैंक खाताहरु सञ्चालनमा समस्या आएको हो । हालको कार्यसमिति २०८१ माघ २७ गते निर्वाचित भएको भएपनि राष्ट्र बैंकको पत्रअनुसार भण्डारी उक्त मितिभन्दा अगावैदेखि नै कालोसूचीमा रहेको देखिएको संस्थासँग सम्बन्धित स्रोतले जनाएको छ ।

कालोसूचीमा रहेको व्यक्ति संस्थाको कोषाध्यक्ष बनेपछि पनि करिब १८ महिनासम्म संस्थाका बैंक खाता सञ्चालनमा रहनुले सम्बन्धित बैंक शाखाहरुको प्रक्रियामाथि समेत प्रश्न उठेको छ । यद्यपि बैंक तथा सम्बन्धित निकायको मिलेमतो भएको भन्ने विषयमा आधिकारिक पुष्टि भने भएको छैन । विभिन्न बैंकमा खाता सञ्चालन हुँदै आएको र पछिल्लो समय क्रमशः खाता बन्द भएको संस्थाले जनाएको छ । खाता बन्द भएपछि संस्थाको नियमित आर्थिक कारोबारमा प्रत्यक्ष असर परेको छ । २५ जना कर्मचारी कार्यरत रहेको संस्थामा मासिक करिब ९ लाख १ हजार रुपैयाँ तलब खर्च हुने गरेको छ । हाल कर्मचारीको चालु महिनाको तलबसमेत भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले नेपाल विद्युत प्राधिकरणलाई करिब ४ लाख ७८ हजार रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम चालु महिनाभित्र भुक्तानी हुन नसके नियमानुसार ५ प्रतिशत जरिवाना लाग्ने संस्थाकी कार्यवाहक प्रमुख कल्पना जिसीले बताईन । उनका अनुसार त्यसबाट करिब २३ हजार ९ सय रुपैयाँ थप जरिवाना लाग्न सक्छ । लामो समयसम्म बक्यौता रहे विद्युत प्राधिकरणले नियमअनुसार विद्युत लाइन समेत काट्न सक्ने अवस्था रहेको उनले बताईन । कालोसूची सम्बन्धी विषय संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी हुँदाहुँदै पनि समयमै आवश्यक निर्णय नलिँदा अहिलेको अवस्था आएको भन्दै संस्थाभित्रै प्रश्न उठेको छ । भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

समस्या समाधानका लागि संस्थाले भदौ २५ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकमा संस्थाका पदाधिकारी, सदस्य, पुर्ब अध्यक्षहरु तथा सल्लाहकारसहित रास्वपा लमही नगर सभापति रोशन खनाल,नेपाली काङ्ग्रेस लमही सभापति सन्तोष बुढाथोकी,नेकपा एमालेका रतन कुमार केसी,लमही-५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी लमही -६ का वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागिता थियो । बैठकमा व्यापक छलफल भएपनि तत्काल कुनै निष्कर्ष ननिस्किएपछि बैठक स्थगित गरिएको संस्थाका अध्यक्ष सनमकुमार पौडेलले बताए । बैठकमा कोषाध्यक्ष भण्डारीले आफू आफ्नै कारणले नभई सहोदर दाइको ऋणमा साक्षी बसेका कारण कालोसूचीमा परेको दाबी गरेका थिए ।

त्यस्तै,उनले समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको भन्दै एक साताको समय मागेका थिए । साथै, संस्थाको नामबाट ‘स्टे अर्डर’ माग गरेपछि बैंकिङ कारोबार सहज हुने दाबी गर्दै एक साताभित्र समस्या समाधान गर्न नसके स्वतः राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष पौडेलले जानकारी दिए । तर व्यक्तिगत बैंकिङ समस्याका सन्दर्भमा संस्थाले नै अदालतबाट आदेश माग्ने विषयमा सहमति जुट्न नसकेपछि कानुनी पक्षमा थप छलफल गर्न बैठक स्थगित गरिएको हो । भदौ २६ गते बिहान ११ बजे पुनः बैठक बस्ने निर्णय गरिएको छ । यसैबीच, संस्थाको विधानमा पदाधिकारीको पद रिक्त भएमा पदपूर्तिको स्पष्ट व्यवस्था रहेको देखिन्छ ।

विधानको सम्बन्धित प्रावधानअनुसार अध्यक्षको लिखित राजीनामा, अविश्वासको प्रस्ताव वा विधानको दफा ४ बमोजिम पद रिक्त भएमा तीन वर्षे कार्यकालमा ६ महिना मात्र बाँकी रहेको अवस्थामा उपाध्यक्षले अध्यक्षको काम गर्ने तथा सोभन्दा बढी कार्यकाल बाँकी भए नयाँ निर्वाचनबाट पदाधिकारी पूर्ति गर्ने व्यवस्था छ ।

त्यस्तै,अन्य पद राजीनामा वा दफा ४ बमोजिम रिक्त भएमा बाँकी कार्यकालका लागि कार्यसमितिको बैठकको बहुमतबाट योग्य सदस्यलाई मनोनित गर्न सकिने व्यवस्था विधानमा उल्लेख छ । यस व्यवस्थाले संस्थाको नियमित कारोबार नै प्रभावित हुने अवस्था सिर्जना हुँदा समस्या समाधानका लागि पदाधिकारीको व्यक्तिगत बैंकिङ अवस्थाभन्दा संस्थाको हित र विधानअनुसार तत्काल निर्णय लिन सकिने बाटोसमेत देखाएको छ । अबको बैठकले कोषाध्यक्षको विषयमा कानुनी तथा संस्थागत रूपमा के निर्णय गर्छ भन्ने विषय लमही खानेपानीका उपभोक्ता,कर्मचारी र सरोकारवालाको चासोको विषय बनेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]