
Sdc
Ksbus
Asbus
Rgp
Msbus
Ksbus
Ggp
Lnp
Ggp

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ ।
ज्येष्ठ नागरिक,अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो ।
गाउँपालिकाको विकट पहाडी क्षेत्र वडा नम्बर ९ का विभिन्न बस्ती,टोल तथा घरमै पुगेर अहिले नवीकरणको काम भइरहेको राप्ती गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतले जानकारी दिए ।
वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरका अनुसार नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडाका विभिन्न बस्ती तथा घरमै पुगेर नवीकरणको काम भइरहेको छ । ‘ज्येष्ठ नागरिक,अपाङ्गता भएका र अशक्त नागरिकलाई वडा कार्यालयसम्म आउन असहज हुन्छ,’उनले भने, ‘त्यसैले उहाँहरुलाई सेवा लिन कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाएर हामी आफैं घरटोलमा पुगिरहेका छौं ।’
कार्यालय समयमा सर्भर डाउन हुने, टाढाका बस्तीबाट वडा कार्यालयसम्म आउनुपर्ने तथा उमेर र शारीरिक अवस्थाका कारण सेवाग्राहीलाई हुने असहजतालाई ध्यानमा राखेर घरदैलोमै सेवा दिन थालिएको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्र सहित लाभग्राही स्वयं उपस्थित हुनुपर्ने लगायतका प्रक्रियाले कतिपय नागरिकलाई समस्या हुने गरेको छ । घरदैलो अभियानबाट विशेषगरी ज्येष्ठ नागरिक,अपाङ्गता भएका तथा अशक्त लाभग्राहीलाई सहज भएको वडा कार्यालयले जनाएको छ ।
पञ्जीकरण शाखा प्रमुख नारायण बहादुर राउतले हाल वडा नम्बर ९ का विभिन्न टोल तथा बस्तीमा पुगेर नवीकरणको काम भइरहेको बताए ।आवश्यकता अनुसार अन्य वडाका गाउँ तथा टोलमा समेत अभियान सञ्चालन गरिने उनले जानकारी दिए । घरमै पुग्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात तथा प्रक्रियाबारे समेत जानकारी गराउने गरिएको उनको भनाइ छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय रहेकाले गाउँपालिकाले सम्बन्धित लाभग्राहीलाई समयमै नवीकरण गराउन आग्रह समेत गरेको छ ।
