
Lnp
Ggp
Ggp
Sdc
Rgp
Msbus
Ksbus
Ksbus
Asbus


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिमालिका भगवती माताको पूजाआजा गरी परम्परागत पेटारो बडिमालिकातर्फ पठाइएको छ ।
सुदूरपश्चिमको धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको हो ।
त्यस्तै,पूजापछि परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ प्रस्थान गराइएको छ ।बडिमालिकामा पूजा गर्न डोटीबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परा हो । पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदल यात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ ।
परम्परा अनुसार पेटारो पठाउने क्रममा विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्दै टोली बडिमालिका तर्फ अघि बढ्ने गर्दछ । बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ । बडिमालिकाको यस वर्षको मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ गरिएको छ ।
त्यस्तै,पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास,संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको छ । राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यो परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवर्द्धन गर्दै आएको छ । दिनेशखबर
