काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनु भयो ।
शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो ।नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भन्नु भयो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उहाँलाई नर्भिकमा रेफर गरेको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । जोशी नेपाली कांग्रेसको केन्द्रीय सदस्य र पूर्वमन्त्री तथा पूर्वसांसद पनि हुनुहुन्थ्यो ।