
Snmbs
Dpm
Snmbs
Ges
sjnsplk
pvg
Sdc
Gesld
Pbu
Dbc
Amb
Mbf
snmbs
dpm
rgs


दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वनसम्बन्धी कानुनी व्यवस्थाले विकास निर्माणका कार्यमा बाधा पुग्न नहुने बताएका छन् ।
मंगलबार आयोजित सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालाबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहले सञ्चालन गर्ने सडक, खानेपानी, सिंचाइ तथा अन्य पूर्वाधार आयोजनाहरू वनसम्बन्धी प्रक्रियाका कारण अनावश्यक रूपमा प्रभावित हुन नहुने बताए ।
त्यस्तै उनले राप्ती गाउँपालिका क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका जीर्ण तथा जोखिमपूर्ण रुखहरूले सवारीसाधन र यात्रुको सुरक्षामा खतरा उत्पन्न गरिरहेको उल्लेख गर्दै यस्ता रुखहरूको पहिचान गरी समयमै व्यवस्थापन गर्न वन कार्यालयले आवश्यक पहल गर्नुपर्ने बताए । “मानव जीवनको सुरक्षा पहिलो प्राथमिकता हो, त्यसैले जोखिमपूर्ण रुख हटाउने विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ,” उनले भने ।
अध्यक्ष विष्टले वन संरक्षणसँगै वन क्षेत्रमा आधारित उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा पनि राखे । वनजन्य उत्पादनको प्रशोधन, जडीबुटी, बाँस, निगालो तथा अन्य वन पैदावारमा आधारित आयआर्जन र रोजगारमूलक कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिने उनको भनाइ थियो।
“वन संरक्षण मात्र होइन, वनबाट नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम पनि आवश्यक छन्,” अध्यक्ष विष्टले भने, “वन क्षेत्रसँग सम्बन्धित उद्यमशीलता प्रवर्द्धन गरेर युवाहरूलाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ ।”
डिभिजन वन कार्यालय दाङ देउखुरीको आयोजनामा सम्पन्न बैठकमा वन संरक्षण, वन पैदावार व्यवस्थापन,सामुदायिक वनको प्रभावकारी सञ्चालन,वनजन्य विपद् न्यूनीकरण तथा वन क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो ।
डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजन वन अधिकृत गणेशबहादुर खड्काले वन संरक्षण, जैविक विविधता जगेर्ना र दिगो वन व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले वन ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनहरू वन संरक्षणका सफल नमुना भएको उल्लेख गर्दै सामुदायिक वनमार्फत आयमूलक तथा उद्यमशीलता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले वन संरक्षणका उपलब्धिलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राखे ।
बैठकमा राप्ती गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू,इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख,विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरू,वन कार्यालयका कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले वन क्षेत्रको संरक्षण,दिगो उपयोग, वनजन्य उद्यम विकास तथा स्थानीय तह र वन कार्यालयबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।
कार्यक्रममा वन क्षेत्रका चुनौती,अवसर तथा आगामी दिनमा अपनाउनुपर्ने साझा कार्ययोजनाबारे समेत छलफल भएको थियो । बैठकले वन व्यवस्थापन, संरक्षण,वनमा आधारित उद्यम विकास तथा विकास निर्माणका कार्यलाई सन्तुलित रूपमा अघि बढाउन सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वयलाई थप सुदृढ गर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।
