दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले स्वच्छ खानेपानी उपभोग गर्न पाउने सबै नागरिकको समान अधिकार भएको बताउनु भएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको संयुक्त लगानीमा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा सुरु भएको खानेपानी आयोजनाको शिलान्यास गर्दै शर्माले सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन ठूला र मझौला तथा साना खानेपानीका आयोजना सञ्चालन गरिरहेको बताउनु भएको हो ।
‘विकट गाउँको नागरिक र सुगम बजारको नागरिकको अधिकार समान हो । सरकारले विकट वस्तिका नागरिकलाई प्राथमिकतामा राखेर आयोजना सञ्चालन गर्नुपर्छ’उहाँले भन्नुभयो–‘प्रदेश सरकारले एक घर एक धाराको अभियानलाई मुख्य कार्यक्रमको रुपमा अघि बढाएको छ ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्ज कार्यालयका प्रमुख मनिसकुमार राजले खानेपानी आयोजना २ बर्ष भित्र सम्पन्न हुने र गुणस्तरीय काम भए नभएको वारेमा अनुगमन गरिने बताउनु भयो । ९ करोड ९८ लाखको लागतमा खानेपानी आयोजना सञ्चालनमा आउने छ । लमही–३ र ४ नम्बर वडाका उपभोक्तालाई खानेपानी सुविधा पु¥याउने लक्ष छ ।
लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बावुराम चौधरीले सबैलाई स्वच्छ खानेपानी पुर्याउने ग्यारेन्टी सरकारले गर्ने बताउनु भयो । लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा खानेपानी संस्थाका कानुनी सल्लाहकार विमबहादुर केसीले खानेपानीको स्रोतको संरक्षण गर्दै मितव्ययी उपभोगमा ध्यान दिन आग्रह गर्नु भयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य नारायण डिसी छम्पालीले विकास निर्माणको काममा सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । खानेपानी संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सनमकुमार पौडेलले सञ्चालन गर्नु भएको थियो ।