
Msbus
Asbus
Sdc
Ksbus
Ggp
Rgp
Lnp
Ggp
Ksbus


रोल्पा । सुनछहरी गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सामूहिक संकल्प पत्र जारी गरेको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न शैक्षिक सत्र २०८२ को समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले विद्यालयको शैक्षिक सुधार र विद्यार्थी उपलब्धि वृद्धि गर्न विभिन्न प्रतिबद्धता व्यक्त गर्दै संकल्प पत्र जारी गरेका हुन् ।
समीक्षाका क्रममा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था, वार्षिक परीक्षा नतिजा तथा एसईई परीक्षाको उपलब्धिबारे छलफल गरिएको थियो । विद्यालयहरुमा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेको भन्दै शैक्षिक सुधारका लागि संयुक्त प्रयास आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो ।
त्यस्तै,संकल्प पत्रअनुसार प्रधानाध्यापक तथा विषय शिक्षकहरुले विद्यालयस्तरीय शैक्षिक सुधार योजना तयार गरी कार्यान्वयन गर्ने,विद्यार्थीहरुको नियमित मूल्याङ्कन गर्ने,गृहकार्य प्रणालीलाई प्रभावकारी बनाउने तथा कमजोर सिकाइ भएका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै विद्यार्थीको नियमित उपस्थितिमा जोड दिँदै अनुपस्थित विद्यार्थीका अभिभावकसँग समन्वय गरी समस्या समाधानका पहल गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक अवस्था नियमित अनुगमन गर्ने,अभिभावकको सहभागिता बढाउने तथा विद्यालय सुधारका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले पनि शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्ने, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम उपलब्ध गराउने,नियमित अनुगमन गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, प्रधानाध्यापक र शिक्षकलाई प्रोत्साहन गर्ने जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर पुन, उपाध्यक्ष ननकला घर्ती,प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती,शिक्षा शाखा प्रमुख वसन्ती जोशी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । सरोकारवालाहरुले सामूहिक रुपमा जारी गरेको उक्त संकल्प पत्रले सुनछहरी गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । मालाश्री खबर
