प्रिया स्मृती गजमेर सोमबार, साउन २५, २०८३

दाङ । इलाका प्रशासन कार्यालय लमहीले लमही बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी लुकाएर राख्ने तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध नगराउने गरेको जनगुनासोपछि ग्यास विक्रेताका पसलमा अनुगमन तथा छापा मारेको छ ।

उपभोक्ताबाट ग्यास विक्रेताले ग्यास लुकाएर राख्ने, समयमै बिक्री नगर्ने र लामो समयसम्म नाम टिपाएर तथा पैसा बुझाएर पनि ग्यास पाउन नसकेको गुनासो आएपछि प्रशासनले बजारमा रहेका विभिन्न ग्यास विक्रेताका पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा लमही नगरपालिका ४ अर्नवा स्थित भेरी ग्यासको विक्रेता न्यु श्रेष्ठ किराना पसलमा ९ वटा भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला परेको इलाका प्रशासन कार्यालय लमहीका कायममुकायम प्रमुख इश्वरी भारतीले जानकारी दिइन् ।

प्रशासनले फेला पारेका सिलिन्डरलाई नियन्त्रणमा लिएर उपभोक्तालाई नै बोलाई प्रशासन कार्यालयको उपस्थितिमा वितरण गरिएको छ । ग्यासको अभाव भइरहेको अवस्थामा विक्रेताले भरिएका सिलिन्डर लुकाएर राखेको पाइएपछि प्रशासनले त्यस्ता गतिविधि नगर्न समेत सचेत गराएको छ ।

त्यसैगरी इलाका प्रशासन कार्यालयको टोलीले लमही–कोइलाबास रोडमा रहेका कुँवर ग्यास सप्लायर्स र चन्द्रविनायक सप्लायर्समा समेत अनुगमन गरेको थियो । कुँवर ग्यास सप्लायर्समा एउटा भरिएको ग्यास सिलिन्डर फेला परेपछि त्यसलाई तत्कालै उपभोक्तालाई बोलाएर वितरण गरिएको प्रशासनले जनाएको छ । दुई वटा पसलबाट गरी जम्मा १० वटा भरिएका खाना पकाउने ग्यास सिलिन्डर फेला परेको र ती सिलिन्डर उपभोक्ताकै उपस्थितिमा वितरण गरिएको हो ।

भेरी र मनकामना ग्यासको अभाव:

लमही बजारमा पछिल्लो समय राप्ती ग्यास तुलनात्मक रूपमा सहज रूपमा उपलब्ध भएपनि भेरी र मनकामना ग्यास पाउन उपभोक्ताले निकै समस्या भोग्नुपरेको गुनासो गरेका छन् । विशेषगरी भेरी ग्यासका उपभोक्ताले लामो समयदेखि ग्यासको अभाव झेल्दै आएको बताएका छन् । उपभोक्ताले ग्यास पाउनका लागि करिब एक साताभन्दा अगाडिदेखि नै विक्रेताकोमा नाम टिपाउने र पैसा बुझाउने गरेपनि सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

‘नाम टिपाएर पैसा बुझाएको धेरै दिन भइसक्यो,तर ग्यास कहिले पाइन्छ भन्ने निश्चित हुँदैन,’लमही नगरपालिका ४ का उपभोक्ता जुद्द बहादुर कार्कीले गुनासो गर्दै भने,‘बजारमा ग्यास आएको सुनिन्छ,तर सर्वसाधारण उपभोक्ताले सहज रुपमा पाउन सकेका छैनन् ।’ ग्यासजस्तो अत्यावश्यक वस्तुमा समेत उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने, नाम टिपाउनुपर्ने र पैसा बुझाएर पनि प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएपछि प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो ।

ग्यास लुकाएर राख्नेलाई कारबाही गर्ने चेतावनी

इलाका प्रशासन कार्यालय लमहीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई सहज रुपमा बिक्री नगर्ने वा अनावश्यक रुपमा लुकाएर राख्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराएको छ ।प्रशासनका अनुसार बजारमा ग्यासको आपूर्ति, बिक्री वितरण र उपभोक्ताले सहज रुपमा पाउने अवस्थाबारे नियमित अनुगमन गरिनेछ । उपभोक्ताबाट प्राप्त हुने गुनासोलाई समेत आधार बनाएर आवश्यक ठाउँमा निरीक्षण तथा अनुगमन गरिने प्रशासनले जनाएको छ ।

त्यस्तै,ग्यासको अभावका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुन नदिन सम्बन्धित ग्यास कम्पनी,विक्रेता र स्थानीय प्रशासनबीच समन्वय आवश्यक देखिएको छ । बजारमा पर्याप्त ग्यास उपलब्ध भएपनि विक्रेताले लुकाएर राख्ने वा पहुँचका आधारमा बिक्री गर्ने अवस्था भए त्यसले कृत्रिम अभाव सिर्जना गर्ने भएकाले प्रशासनको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ । उपभोक्ताले भने ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन,नाम टिपाएका र पैसा बुझाएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन तथा बजारमा ग्यासको वास्तविक आपूर्ति र बिक्री अवस्थाबारे नियमित अनुगमन गर्न प्रशासनसँग माग गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]