
Ggp
Sdc
Lnp
Ksbus
Rgp
Asbus
Msbus
Ksbus
Ggp


दाङ । देउखुरी बहुमुखी क्याम्पसले यहीँ जेठ १७ गतेदेखि जेठ २१ गतेसम्म सञ्चालन हुने “जर्नल सम्पादन क्षमता अभिवृद्धि कार्यक्रम” सम्बन्धमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे विस्तृत जानकारी गराएको छ ।
क्याम्पसको अनुसन्धान तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी,व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस अनुसन्धान व्यवस्थापन एकाइको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी)को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको उक्त कार्यक्रम विशेषगरी क्याम्पसमा कार्यरत प्राध्यापक तथा अनुसन्धान व्यवस्थापन एकाइका सदस्यहरूको क्षमता अभिवृद्धिमा केन्द्रित रहने बताइएको छ ।
त्यस्तै,पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा जर्नल सम्पादन प्रक्रिया,अनुसन्धान लेखन,शैक्षिक प्रकाशनको मापदण्ड, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा शैक्षिक सामग्री सम्पादन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सुधीर कुमार अधिकारीले उच्च शिक्षामा अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको बताए । उनले अनुसन्धानमा आधारित शैक्षिक गतिविधि प्रभावकारी बनाउन तथा क्याम्पसबाट प्रकाशन हुने जर्नललाई स्तरीय र प्रतिस्पर्धी बनाउन कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले जर्नल सम्पादनसम्बन्धी सीप अभावका कारण धेरै शैक्षिक सामग्रीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रकाशन हुन नसकेको उल्लेख गर्दै यस प्रकारका तालिमले प्राध्यापकहरूको दक्षता अभिवृद्धि गर्ने बताए । साथै अनुसन्धानमुखी शिक्षा प्रणाली निर्माण गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख शिव वलीले देउखुरी बहुमुखी क्याम्पसलाई अनुसन्धानमैत्री शैक्षिक संस्था बनाउने लक्ष्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । उनले वर्तमान समयमा अनुसन्धान र प्रकाशनलाई उच्च शिक्षाको महत्वपूर्ण आधारका रूपमा लिइने भएकाले प्राध्यापक तथा अनुसन्धानकर्मीहरुको क्षमता विकासमा क्याम्पसले विशेष प्राथमिकता दिएको बताए । उनका अनुसार अनुसन्धानमा आधारित अध्ययन–अध्यापनले विद्यार्थीको बौद्धिक विकाससँगै समाजका विविध समस्याको समाधान खोज्न समेत मद्दत पुग्नेछ । क्याम्पसलाई शैक्षिक तथा अनुसन्धानको केन्द्रका रुपमा स्थापित गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले स्पष्ट पारे ।
पत्रकार सम्मेलन कार्यक्रम अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सुधीर कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण क्याम्पसका लेखा शाखा प्रमुख दिवाकर पोख्रेलले गरेका थिए ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । क्याम्पसले आयोजना गर्न लागेको उक्त कार्यक्रमले प्राध्यापक तथा अनुसन्धान कर्मीहरुको दक्षता वृद्धि गर्नुका साथै क्याम्पसको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

