
Dus
Lnp
Ggp
Rgp
lnp
Asb
Ggp
ksb
Usb
Sgp
Jns
Lks
Rgp
Rgp
Rgp

lms

दाङ । नेकपा (माओवादी) बाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाश शाहीले भ्रष्टाचारको नियन्त्रण,सुशासन,समावेशी विकास र आवश्यक संविधान संशोधनका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।
शनिबार दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार शाहीले देशमा व्याप्त बेथिति, अनियमितता र राजनीतिक अस्थिरताको अन्त्यका लागि नयाँ ढंगको राजनीतिक अभ्यास आवश्यक भएको बताए । पत्रकारहरुसँगको अन्तरक्रियामा उनले दाङ–१ क्षेत्रका जनताले लामो समयदेखि सुशासन, रोजगारी र दिगो विकासको अनुभूति गर्न नपाएको उल्लेख गर्दै अब परिवर्तनको विकल्प नभएको दाबी गरे ।
“राजनीति व्यक्तिगत लाभ र शक्ति केन्द्रित हुँदा आम नागरिकले सास्ती भोग्नुपरेको छ । अब राजनीति जनताको जीवनस्तर बदल्ने माध्यम बन्नुपर्छ,” उनले भने । उम्मेदवार शाहीले पछिल्ला वर्षहरुमा देशमा भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ठूला–ठूला काण्डहरू सार्वजनिक हुँदा समेत दोषीमाथि कारबाही हुन नसक्नु लोकतन्त्रकै लागि चुनौती भएको उनको भनाइ थियो । “भ्रष्टाचार नियन्त्रणका लागि कानुन मात्र होइन, राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ । संसदमा पुगेपछि भ्रष्टाचारविरुद्ध कठोर कानुन निर्माण र कार्यान्वयनका लागि दृढतापूर्वक उभिनेछु,” उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै शाहीले सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउँदै सेवा प्रवाहलाई छरितो, पारदर्शी र जवाफदेही बनाउन संघीय सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । स्थानीय तहदेखि संघीय तहसम्म जिम्मेवारी बोधको संस्कार विकास नगरेसम्म सुशासन सम्भव नहुने उनको निष्कर्ष थियो । “सरकार जनताको मालिक होइन, सेवक हो भन्ने मानसिकता विकास गर्नुपर्छ,” उनले जोड दिए । उम्मेदवार शाहीले दाङ क्षेत्र नम्बर १ मा सम्भावना धेरै भए पनि राज्यको ध्यान पर्याप्त नपुगेको बताए । कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउन सके दाङ समृद्धिको केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।
विशेषगरी देउखुरी क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण, सिंचाइ विस्तार, युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम र स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे । उनले बेरोजगारी समस्यालाई गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्था अन्त्य गर्नुपर्ने बताए । “देशमै रोजगारी सिर्जना नगरी समृद्धि सम्भव छैन । युवाको सीप, ज्ञान र श्रमलाई स्वदेशमै उपयोग गर्ने नीति आवश्यक छ,” शाहीले भने । यसका लागि राज्यले उत्पादनमुखी अर्थतन्त्रतर्फ ध्यान दिनुपर्ने उनको धारणा थियो ।
पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार शाहीले संविधान संशोधनको विषयलाई पनि जोड दिए । वर्तमान संविधान ऐतिहासिक उपलब्धि भए पनि समय र आवश्यकता अनुसार संशोधन अपरिहार्य रहेको उनको भनाइ थियो । “संविधान जनताको जीवनसँग जोडिएको दस्तावेज हो । संघीयता, समावेशिता, अधिकारको कार्यान्वयन र शासन प्रणालीलाई अझ प्रभावकारी बनाउन संशोधन आवश्यक देखिएको छ,” उनले स्पष्ट पारे । उनले संविधान संशोधन कुनै दल वा समूहको स्वार्थका लागि नभई जनताको अधिकार सुनिश्चित गर्न केन्द्रित हुनुपर्ने धारणा राखे । विशेषगरी मधेश, आदिवासी जनजाति, दलित, महिला र पिछडिएका समुदायका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
“कागजमा अधिकार भएर मात्र हुँदैन, जनताले अनुभूति गर्न पाउनुपर्छ,” शाहीले भने । नेकपा माओवादी केन्द्रको राजनीतिक धारणा जनमुखी र परिवर्तनकारी रहेको उल्लेख गर्दै उम्मेदवार शाहीले पार्टीले सधैं उत्पीडित, सीमान्तकृत र श्रमिक वर्गको पक्षमा राजनीति गर्दै आएको दाबी गरे । “जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको यात्रामा माओवादीले ऐतिहासिक भूमिका खेलेको छ । अब त्यो विरासतलाई सुशासन र विकाससँग जोडेर अगाडि बढाउने समय आएको छ,” उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै उम्मेदवार शाहीले “भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या केवल राजनीतिक नारा होइन, मानवीय र सामाजिक न्यायसँग जोडिएको विषय हो । वास्तविक भुमिहिनको पहिचान गरेर लालपूर्जा उपलब्ध गराउने काम राज्यको दायित्व हो ।भूमाफियालाई संरक्षण होइन, वास्तविक सुकुम्बासीलाई अधिकार दिनुपर्ने स्पष्ट नीति मेरो प्राथमिकतामा छ । संसदमा पुगेर यो विषयलाई निर्णायक ढंगले उठाउनेछु,” शाहीले भने । “लोकतन्त्रको मेरुदण्ड सञ्चार क्षेत्र हो । तर अहिले पत्रकार असुरक्षित छन्, सञ्चार गृहहरू आर्थिक दबाबमा छन् । राज्यले स्पष्ट, समावेशी र व्यवहारिक सञ्चार नीति ल्याउनुपर्छ । प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार र मर्यादालाई कानुनी रूपमा बलियो बनाइनुपर्छ । म संसदमा पुगेर सञ्चारमैत्री नीति निर्माणका लागि आवाज उठाउनेछु,” उनले स्पष्ट पारे ।
“दाङका नाका क्षेत्रहरु राज्यको नजरबाट ओझेलमा परेका छन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले दैनिक आवतजावत, व्यापार, सुरक्षा, सञ्चार, खानेपानी र रोजगारीका विषयमा ठूलो समस्या भोगिरहेका छन् । नाका व्यवस्थित नगरी स्थानीय अर्थतन्त्र बलियो हुँदैन । सीमावर्ती क्षेत्रलाई विकासको मूलधारमा ल्याउन पूर्वाधार, सुरक्षा र व्यापार सहजतामा विशेष कार्यक्रम आवश्यक छ,” शाहीको भनाइ थियो ।
शाहीले चुनाव जितेपछि पनि जनतासँग निरन्तर संवादमा रहने प्रतिबद्धता व्यक्त गरे । “चुनाव जितेपछि जनताबाट टाढा हुने प्रवृत्ति गलत हो । म जनताको प्रतिनिधि भएर जनताकै बीचमा रहनेछु,” उनले भने ।पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मी र नेकपा माओवादीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
