
Rgp
Ggp
Sdc
Ggp
Lnp
Ksbus
Asbus
Msbus
Ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नसर्ने रोगहरु न्यूनीकरणका लागि ‘खाने बानीमा सुधार सम्बन्धी सचेतना कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना एवम् राप्ती गाउँपालिकाको सहकार्यमा साे कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले खानपानसम्बन्धी गलत बानीका कारण धेरै नागरिकहरु नसर्ने रोगको जोखिममा परेको बताए । उनले खान नपाएर भन्दापनि खान नजानेर धेरै मानिस बिरामी पर्ने गरेको उल्लेख गर्दै सही तरिकाले भोजन छनोट र सेवन गरे धेरै रोगबाट बच्न सकिने धारणा राखे ।
साे अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल र खाद्य निरीक्षक सुदर्शन गोसाईंले नसर्ने रोगहरूको जोखिम बढाउने तथा न्यूनीकरण गर्ने खानपानबारे कार्यपत्र प्रस्तुत गरे । प्रस्तुतिकरणमा प्रशोधित तथा अत्यधिक नुन,चिनी र बोसोयुक्त खाद्यले स्वास्थ्यमा पर्ने असर तथा स्थानीयस्तरमा स्वस्थ खानेबानी विस्तार गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको थियो।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मा,भालुबाङ र सिसहनियाँ स्वास्थ्य चौकी अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरुले स्थानीय समुदायमा पौष्टिक आहार,नियमित स्वास्थ्य जाँच र सक्रिय जीवनशैलीले नसर्ने रोगहरु न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
