
Ksbus
Sdc
Ggp
Ggp
Lnp
Asbus
Rgp
Ksbus
Msbus


दाङ । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि ग्यास लुकाएर राख्ने तथा उपभोक्तालाई सहज रुपमा बिक्री नगर्ने गरेको जनगुनासो आएपछि गढवा गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले सोमबार गाउँपालिका भित्रका विभिन्न ग्यास विक्रेताका पसलमा छड्के अनुगमन गरेको छ ।
उपभोक्ताहरूबाट ग्यास विक्रेताले ग्यास लुकाएर राख्ने, समयमै बिक्री नगर्ने तथा लामो समयसम्म नाम टिपाएर र पैसा बुझाएर पनि ग्यास पाउन नसकेको गुनासो आएपछि बजारको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको गढवा गाउँपालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन् ।
समितिले गढवा गाउँपालिकाको मुख्य बजारसहित वडा नम्बर १ देखि ७ सम्मका करिब १५ स्थानमा रहेका ग्यास विक्रेताका पसलमा अनुगमन गरेको हो । गढवा बजार, मानपुर, गोबरडिहा, धैरेनी, उठैया, पुतली बजार, कालाकाटेलगायतका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भरिएका सिलिन्डर लुकाएर राखेको वा अन्य कुनै गलत कार्य गरेको नपाइएको समितिले जनाएको छ ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले माथिल्लो तहबाटै ग्यासको आपूर्ति नियमित हुन नसक्दा बजारमा अभाव देखिएको बताएका थिए । आपूर्ति सहज भए आफूहरूले पनि उपभोक्ताको मागअनुसार सहज रूपमा ग्यास बिक्री–वितरण गर्ने व्यवसायीहरूको भनाइ थियो । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेका दुई स्थानमा भने क्रमशः ४ र १० गरी १४ थान भरिएका ग्यास सिलिन्डर खुला स्थानमा राखिएको अवस्थामा भेटिएका थिए । ती सिलिन्डर बिक्रीका लागि राखिएको व्यवसायीहरूले बताएका छन् ।
अनुगमनका क्रममा समितिले ग्यास विक्रेताका स्टोरमा रहेका सिलिन्डरको अवस्था,पछिल्लो एक महिनामा भएको ग्यास आपूर्तिको विवरण, बिक्री–वितरणसम्बन्धी बिल तथा अन्य आवश्यक कागजातसमेत जाँच गरेको थियो । अनुगमनपछि समितिले ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने तथा उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्ने जनाएको छ । कठिन अवस्थामा सबै पक्षले संयमता अपनाई सहकार्य गरेमा बजारमा देखिएको समस्या न्यूनीकरण गर्न सकिने समितिको भनाइ छ ।
अनुगमनमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, गढवा होटल व्यवसायी संघका अध्यक्ष रामबहादुर थापा,गढवा गाउँपालिका संघ–संस्था शाखा प्रमुख सुरेश पौडेल,कृषि विकास शाखा प्रमुख कर्ताराम यादव,प्रेस संयोजक आलोक भावुक लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाले उपभोक्ताको गुनासोलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन तथा सरोकारवाला निकायसँगको समन्वयलाई निरन्तरता दिने जनाएको छ ।
