
Ppu
Usb
Csb
Rks
Ssb
Gsb
Ksb
Tgp
Nsb
Bsn
Rsb
Ksb
Ksb
Ssb

Usb
Ssb
Tsb
Hl1
Gsb

Nps
Rgu
ptl
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरु सार्वजनिक गरेको छ ।
सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरुको विकल्पमा श्रम र उत्पादनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने उद्घोष गरेका छन् । पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङद्वारा जारी विज्ञप्ति अनुसार घोषणापत्रले शासकीय स्वरुप,शिक्षा,राष्ट्रियता र अर्थतन्त्रमा आमूल परिवर्तनको प्रतिबद्धता जनाएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीले वर्तमान संसदीय व्यवस्थाको अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तनको प्रस्ताव गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिने उल्लेख छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ । साथै पार्टीको मुल सिद्धान्त ‘हर्कवाद’ रहेको छ । ‘प्रकृति,संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रदानम गर्नुपर्ने,अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी,विभेद र त्यसबाट उत्पन्न द्वन्द्व,लडाइँ,विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद,’उनले भने ।
सांसदहरुको काम कानुन बनाउने मात्र हुने भन्दै पार्टीले ‘सांसद मन्त्री बन्न नपाउने’ र मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने व्यवस्था अघि सारेको छ । यदि कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतःनिलम्बन हुनेछ । निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने र जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने बताइएको छ । कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुनेछ भने एक व्यक्ति २ पटक भन्दा बढी चुनिन पाउने छैन । पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने जनाएको छ ।
यस्तै शिक्षा क्षेत्रमा पार्टीले नौलो नीति अघि सारेको छ । घोषणापत्र अनुसार विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र साहित्य सिर्जनामा लगाइनेछ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन १२ कक्षासम्म खाना पकाउन र लुगा सिउन अनिवार्य सिकाइनेछ । १२ कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीले अनिवार्य सैनिक तालिम लिनुपर्नेछ । सैनिक तालिम पूरा गरेपछि मात्रै उच्च शिक्षा हासिल गर्न पाइने कडा नियम पार्टीको एजेन्डामा छ । साथै, शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिन वा राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।
राष्ट्रियताको सवालमा पार्टीले अनुदार नीति लिने घोषणा गरेको छ । देशमा क्रियाशील सम्पूर्ण अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरु खारेज गरिने घोषणापत्रमा उल्लेख छ । सीमा सुरक्षाका लागि नेपाली सेनालाई सिमानामा खटाइने र सीमा अतिक्रमणलाई पूर्ण रुपमा रोकिने बताइएको छ । नागरिकताको विषयमा पनि पार्टीले कडा अडान राखेको छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी नागरिकले निरन्तर ५ वर्ष नेपालमा बसोबास गरेको र विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै आर्थिक नीति अन्तर्गत पार्टीले ‘वैज्ञानिक कर प्रणाली’ लागु गर्ने बताएको छ । जसअनुसार धनी वर्गबाट बढी कर लिएर गरिबलाई सहुलियत दिइनेछ । मेयर साम्पाङले धरानमा सुरु गरेको ‘श्रमदान’ अभियानलाई राष्ट्रिय नीतिकै रूपमा विकास गरी सबै नागरिकलाई श्रमदानमा जोड्ने पार्टीको योजना छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने घोषणा पत्रमा उल्लेख छ । विदेशी लगानी लिँदा बिनासर्त मात्र स्वीकार गरिने र सरकारी चालु खर्चमा व्यापक कटौती गरी मितव्ययी अर्थतन्त्र निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै सुशासन कायम गर्न सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा मात्र नभई सोझै जागिरबाट बर्खास्त गर्ने कठोर नीति लिइनेछ । पत्रकार कर्मचारी र न्यायालयलाई पूर्ण रुपमा गैरराजनीतिक बनाइने र सबै सरकारी बैठकहरु पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण गरिने प्रतिबद्धता जनाइएको छ । नयाँ पुस्ताको भावना सम्बोधन गर्न पार्टीले ‘जेनजी’ को गुनासो सुन्न छुट्टै आयोग गठन गर्ने प्रस्ताव पनि अघि सारेको छ । धर्मनिरपेक्षतालाई कायम राख्दै कसैको करकापमा धर्म परिवर्तन गराउन नपाइने नीति पार्टीले लिएको छ ।
धरानमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भई चर्चा कमाएका साम्पाङले यो घोषणापत्रमार्फत आफू अब राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उदाउन खोजेको सन्देश दिएका छन् ।
