
Ppu

Tsb
Ssb
Gsb
Usb
Hl1

Nps
ptl
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिका गाउँपालिका वडा नम्बर–३,स्थित गोबरडिहा आयुर्वेद औषधालयले नि:शुल्क फिजियोथेरापी सेवा औपचारिक रुपमा शुरु गरेको छ ।
बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा दिनप्रतिदिन विस्तार हुँदै गएको उल्लेख गर्दै फिजियोथेरापी सेवा जोडिनु पालिकाको स्वास्थ्य संरचनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, “गाउँपालिकाका धेरै नागरिकहरू घुँडा, ढाड, जोर्नी तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित छन् । आयुर्वेद औषधालयबाट सुरु भएको नि:शुल्क फिजियोथेरापी सेवाले यहाँका सर्वसाधारणलाई अत्यधिक राहत पुराउने छ । स्वास्थ्य सेवामा नयाँ आयाम थपिदिएको यो पहल प्रशंसनीय छ ।” पालिका अध्यक्ष पोख्रेलले भने ।
यसैगरी कार्यक्रममा बोल्दै गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डा.शंकर नाथ योगीले औषधालयले आयुर्वेद उपचारलाई आधुनिक प्रविधिसँग जोड्दै चरणबद्ध रूपमा सेवा विस्तार गरिरहेको जानकारी दिए । उनका अनुसार औषधालयमा यसअघि नै शिरोधारा सेवा सञ्चालनमा रहेको र चूर्ण औषधि उत्पादनका लागि आवश्यक मेसिन जडान गरी उत्पादन प्रक्रियाको औपचारिक शुभारम्भ भइसकेको छ ।
फिजियोथेरापीसँगै औषधालयमा सेकाइ प्रविधिबाट (Thermal Therapy) उपचार समेत जारी रहेको उल्लेख गर्दै डा. योगीले भने, “हामी नियमित रुपमा स्तरोन्नत सेवा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ । स्थानीय नागरिकका समस्या, आवश्यकता र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको हो ।”
कार्यक्रममा सहभागी सरोकारवालाहरुले नि:शुल्क फिजियोथेरापी सेवाको शुरुवातले गोबरडिहा क्षेत्र तथा आसपासका बासिन्दालाई गुणस्तरीय र सहज स्वास्थ्य सुविधा उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरेका थिए । गढवा गाउँपालिकाको समन्वयमा आयुर्वेद औषधालयले आगामी दिनमा अझ विविध स्वास्थ्य सेवा थप्दै लैजाने तयारी रहेको जनाएको छ ।
