
Ggp
lnp
Rgp
Sgp
Lks
Dus
Usb
Jns
Rgp
Ggp
Rgp
Rgp
Asb
ksb
Lnp

lms

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।
दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
त्यस्तै ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेन्जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे ।
यस्तै मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।
त्यस्तै विदेशमा रहेका नेपालीको नेपाल बनोस, शान्ति,स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’
सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरुप निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरुप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’
त्यस्तै मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरुको समस्यालाई सहजीकरण गर्न,समस्यामा परेका नेपालीलाई सहयोग लगायतमा समन्वय गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरुले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।
साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ ।
दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
