
Lks
Dus
Rgp
Rgp
ksb
Lnp
Ggp
Rgp
Usb
Pbu
Asb
Rgp
lnp
Jns
Dbs
Ggp
Sgp


रौतहट । रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दाका कैदी चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा १९ गते पक्राउ गरी पुनःकारागार कार्यालय गौरमा बुझाइएको हो ।
त्यस्तै, सोही आन्दोलनकै क्रममा फरार जबरजस्ती करणी मुद्दाका थुनुवा देवाही गोनाही–६ का सुधीरकुमार राम १९ गते स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएका छन् । गरुडा नगरपालिका–५ शिवनगरका ३५ वर्षीय अभयकुमार प्रसाद साहले माधवनारायण–१ का प्रयाग महतोसँग आठ लाख रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि फरार रहेका थिए। उनलाई १८ गते पक्राउ गरिएको छ । बौधीमाई नगरपालिका–१ अजगैबिका ३० वर्षीय किशोरी प्रसाद यादवले परोहा–७ का पवनकुमार यादवसँग १ लाख ७५ हजार रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि १८ गते पक्राउ परेका छन्।
यस्तै रौतहट जिल्ला अदालतको २०६१ सालको फैसलाअनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई १५ गते पक्राउ गरी अदालतमा पेश गरिएको छ । गरुडा नगरपालिका–६ का राजकिशोर यादवले गत साउन ३० गते शम्भु माझीलाई कुटपिट गरी घाइते पारेको घटनामा संलग्न रहेकामा उनलाई १७ गते पक्राउ गरिएको छ । वृन्दावन नगरपालिका–३ का ४० वर्षीय युगल किशोर यादवले साउन १५ गते प्रेमशंकर यादवमाथि फलामको रड प्रहार गरी घाइते पारेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
त्यस्तै,माधवनारायण–४ का रामअज्ञा मुखियाले आफ्नै गाउँमा रामएकवाल मुखियामाथि धारिलो खुर्पीले आक्रमण गरी घाइते पारेको घटनामा संलग्न रहेकाले उनलाई १९ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ । वृन्दावन नगरपालिका–८ बहुअरीका ३० वर्षीय नईमुद्दिन दर्जीले मनोज प्रसाद यादवको घरमा आगजनी गरी खाद्यान्न नष्ट गरेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
गत जेठ १४ गते बिहान गरुडा–६ पोठियाहीमा मर्निङ वाकमा रहेका धिरज कुमार राममाथि हतियार देखाई मोबाइल लुटपाट गर्ने घटना घटाएका ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि १९ गते पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्र कँडेलका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।
