विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनु भयो ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आम सभालाई सम्बोधन गर्दै कुनै कारण प्रतिनिधिसभा पुनर्स्थापना हुने भयो भने सांसद किनबेच,सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ । देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उहाँले भन्नु भयो । सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नु भयो ।
त्यस्तै ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको पनि बताउनु भयो ।