
mbd
Sds
Rbs
Pbu
Gisld
Mbdvs

Asm
Hal
Ksm
Rsb
Rgu
Bbu
Vor
nsb
Sls
Ggd
Rgs
Tsm
Rgu
Bbbpu
Sbs
Wsp
Pvg
Gst
Ssm

Bml
Mks
bbt
Rmb
sab
Gsb
Abd
Rpp
Syp
Jmb
Pls
Jmb
Ptm
दाङ । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरुको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ ।
माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो ।
काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययनरत विद्यार्थी ज्ञानबहादुर थारु कुमाल वडा नम्बर १, जस्मिता थारु कुमाल वडा नम्बर ३ र सविता कुमाल वडा नम्बर ६ ले आफ्नो अध्ययनक्रमका क्रममा तयार पारेका कलात्मक सेरामिक सामग्रीहरु प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । उनीहरूले परम्परागत भाँडाकुँडालाई नयाँ डिजाइन र आधुनिक रूप दिँदै सांस्कृतिक सिपलाई समसामयिक स्वरूपमा रुपान्तरण गरेका थिए ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवाको माटो सेरामिकका लागि नेपालको उत्कृष्ट माटो भएको उल्लेख गर्दै परम्परागत सिपलाई प्रविधिसँग जोड्ने नीति लिएको बताए । उनका अनुसार ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा गाउँपालिकाले सिपमाथि प्रविधि,प्रशिक्षण र बजार व्यवस्थापनमार्फत नयाँ ढंगले सिपलाई पुनर्जीवित गर्ने योजना अघि बढाएको छ ।“गढवाको माटोले राष्ट्रिय स्तरमा पहिचान पाइसकेको छ,अब हामी यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छौं,” अध्यक्ष पोख्रेलले भने ।
“हामीले कुमाल समुदायको पुर्ख्यौली पेशा माटाका भाँडाको कलालाई संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्ने र त्यसलाई आर्थिक उपार्जनसँग सम्बन्धित गर्ने उद्देश्य लिएका छौं। युवापुस्ता परम्परागत सीपबाट टाढा हुँदै गएका छन्, त्यसलाई पुनः आकर्षित गर्न पालिकाले छात्रवृत्ति र अवसर प्रदान गर्दै आएको हो।” अध्यक्ष पोख्रेलले भने।
विद्यार्थी जस्मिता थारु कुमालले आफ्नो अनुभव बाँड्दै भनिन्, “हामीले गाउँमा हाम्रा हजुरआमाले बनाउने माटाका भाँडाबाट प्रेरणा लिएका हौं। विश्वविद्यालयमा सिकेका नयाँ डिजाइन र प्रविधिले त्यस सिपलाई नयाँ स्वरूप दिएका छौं । अब अध्ययन पूरा भएपछि गाउँ फर्किएर त्यसलाई व्यवसायिक रुपमा अघि बढाउने सोच छ।” उनका अनुसार गढवाको माटो र परम्परागत सिपको संयोजनले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बोकेको छ ।
त्यस्तै गढवाका विभिन्न गाउँहरुमा कुमाल र थारु समुदायले वर्षौंदेखि माटाका भाँडा बनाएर जीविका चलाउँदै आएका छन् । तर पछिल्ला पुस्ता आधुनिक रोजगार र प्रविधिप्रतिको आकर्षणका कारण यस पेसाबाट टाढा हुँदै गएकाले यो सिप लोप हुने अवस्थामा पुगेको छ । गाउँपालिकाले त्यसै सिपलाई संरक्षण गर्न छात्रवृत्ति, प्रशिक्षण र आधुनिक उपकरण उपलब्ध गराउँदै नयाँ पुस्तालाई आकर्षित गर्न थालेको हो।
गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न प्रदर्शनीमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल,वडाध्यक्षहरु,वडा सदस्यहरु,कुमाल समुदायका सिपधारीहरु,गाउँपालिकाका कर्मचारी र स्थानीय प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखाका हरिप्रसाद पोख्रेलले गरेका थिए ।
सेरामिक सामग्रीको प्रदर्शनीले गढवाको सिप,स्रोत र सम्भावनाको नयाँ ढोका खोलेको छ । परम्परा र प्रविधिको संगममार्फत गढवा गाउँपालिकाले माटाका भाँडालाई पुनर्जीवित गर्दै स्थानीय अर्थतन्त्र सुदृढ पार्ने दिशा लिएको छ । गढवाबाट सुरु भएको यो प्रयासले अब राष्ट्रिय स्तरमै “स्थानीय सिपबाट उद्यमशीलता” को सन्देश फैलाउन थालेको छ ।
