Sidha Patra बुधबार, साउन २१, २०८२

दाङ । नेपालमा आँखा स्वास्थ्य सेवाको विकासमा दुई दशकभन्दा बढी समय समर्पित डा. सम्शेर थापा नेपालको आँखा स्वास्थ्य सेवाको क्षेत्रमा नीतिगत, व्यवस्थापकीय र अनुसन्धानतर्फ उल्लेखनीय योगदान दिनुभएका एक अग्रणी र प्रेरणादायी व्यक्तित्व हुन् । उनको कार्यशैली, नेतृत्वदक्षता, र समुदायप्रतिको प्रतिबद्धता आज तथा भोलिका स्वास्थ्य प्रशासकहरूको लागि मार्गदर्शनको स्रोत बनेको छ । राप्ती आँखा अस्पतालले गरेका काम र आँखा स्वास्थ्यका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी सारसंक्षेप :— राप्ती आँखा अस्पताल कसरी स्थापनाको भयो, यसको श्रेय कसलाई जान्छ ?

राप्ती आँखा अस्पतालको स्थापनाको पृष्ठभूमि नेपालमा पहिलो पटक दृष्टिविहीनता सम्बन्धी व्यापक सर्वेक्षण २०३७÷०३८ मा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सहकार्यमा गरिएको थियो । यो सर्वेक्षण त्यसबेलासम्म विश्वमै सबैभन्दा व्यापक राष्ट्रियस्तरको आँखा स्वास्थ्य सर्वेक्षण मानिन्छ ।

नेपालभरी ११६ गाउँ तथा वडामा करिब ४० हजार जनाको आँखाको परीक्षणसँगै धेरै अध्ययन तथा अनुसन्धान पनि गरिए । उक्त सर्वेक्षण अनुसार एक करोड ४० लाख जनसंख्यामा ०.८४ % दृष्टिविहीनताको व्यापकता रहेको थियो । अधिकांश दृष्टिविहीनता रोकथाम गर्न सकिने थियो भने मोतियाविन्दु दृष्टिविहीनताको प्रमुख कारण थियो । जुनको ८४% थियो । दोस्रो प्रमुख कारण ट्रकोमा थियो, जुन ३% थियो ।

त्यसैले दृष्टिविहीनता निवारण परियोजना सुरु गर्ने निर्णय भई सेती, महाकाली अञ्चल (हाल सुदुरपश्चिम प्रदेश) र राप्ती अञ्चल (हाल लुम्बिनी प्रदेश) मा भयो । नर्वेजिय सरकार (Norwegian Agency for Development Cooperation-NORAD) को सहयोगमा, कैलालीको धनगढी नजिकैको गेटी गाउँमा १०० शैयाको गेटा आँखा अस्पतालको स्थापना भयो ।

डब्लुएचओले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग केही समय पश्चात नर्वेजियन सरकारले जिम्मा लियो र नर्वेजियन चर्च एड्लाई यो परियोजनाको जिम्मेवारी दियो । यो जिम्मेवारी हस्तान्तरण १ नोभेम्बर १९८५ देखि कार्यान्वयनमा आयो, जसको लागि समाज कल्याण परिषद् र नेपाल नेत्र ज्योति संघबिच सम्झौता भएको थियो ।

यो परियोजना २०३५ साल फागुन १२ गते स्व. राजा विरेन्द्रविक्रम शाह र स्व. रानी एश्वर्य शाहबाट समुदघाट्न भई राप्ती अञ्चलको पाँचवटै जिल्ला (दाङ, सल्यान, रोल्पा, प्युठान र रुकुम) मा पुर्‍याई दृष्टिविहीनता न्यूनीकरण गर्ने उद्देश्यले तुलसीपुरको रक्षाचौरमा राप्ती आँखा अस्पतालको स्थापना भयो । नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ४ विगाह जग्गामा नर्वेजियन सरकारको आर्थिक सहयोगबाट २५ वटाभन्दा बढी भौतिक संरचनाको निर्माण भएको थियो ।

राप्ती अञ्ञचलममा आँखा अस्पतालको विकास र विस्तार नेपालमा पहिलो दृष्टिविहीनताको सर्वेक्षणको तथ्यांकले नेपालमा दृष्टिविहीनताको व्यापक्ता अर्थात Prevelance of Blindness ०.८४ प्रतिशत देखाएको थियो भने राप्ती अञ्चलमा मात्र ०.८७ प्रतिशत दृष्टिविहीनताको व्यापक्ता देखाएको थियो,जुन एकदमै जटिल समस्या रहेको थियो ।

यो समस्यालाई न्यूनीकरण गर्नको लागि नर्वेजियन सरकार र NCA ले आफ्नो सहयोग राप्ती अञ्चलमा विस्तार गर्ने सोच बनाई राप्ती अञ्चलमा राप्ती आँखा अस्पतालको स्थापना गरी दुरदराजमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तार गरेको थियो । परिणामस्वरुप दृष्टिविहीनताको व्यापक्ता राप्ती अञ्चलमा ०.८७ प्रतिशतबाट झरेर ०.१३ प्रतिशतमा झरेको थियो । यसरी नेपाल नेत्रज्योति संघले विभिन्न दातृ निकायको सहयोगमा सबै अञ्चलमा आँखा अस्पतालको स्थापना गरी दृष्टिविहीनता न्यूनीकरणमा प्रमुख भूमिका खेलेको थियो । र, ९० प्रतिशत भन्दा बढी स्थानमा आँखा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने कार्य नेपाल नेत्रज्योति संघको रहेको थियो ।

उक्त सोच तथा परिकल्पनाको श्रेय परिकल्पनाकार श्रदेय आँखा बा प्राध्यापक डा.रामप्रसाद पोख्रेलको रहेको छ भने उक्त परिकल्पनालाई साकार पार्न निरन्तर लागि पर्ने नर्वेजियन नेत्रविशेषज्ञ स्व. डा. अल्बर्ट कोलस्टाडको रहेको छ । नर्वेजियन चर्च एड (NCA) पश्चात नर्वेजियन दृष्टिविहिन तथा अल्पदृष्टिविहीन संघको निरन्तर सहयोग छ । नर्वेजियन चर्च एड्ले सन् १९८६ बाट सन् १९९६ सम्म आर्थिक सहयोग पुर्‍याउँदै आएकोमा सन् १९९६ पश्चात नर्वेजियन चर्च एड्ले नर्वेजियन दृष्टिविहिन तथा अल्पदृष्टिविहीन संघलाई आर्थिक दायित्वको जिम्मेवारी दिने विषयमा संवाद सुरु भयो, जसमा नर्वेजियन दृष्टिविहीन तथा अल्पदृष्टिविहीन संघ एनएविपीले राप्ती आँखा अस्पतालमा आँखा सेवा पुर्‍याउने कार्यमा NCAको भूमिका लिने सम्भावनाको अध्ययन भयो ।

एनएविपीले अस्पतालका आँखा स्वास्थ्यको सेवालाई कायम राख्न मात्र नभई, दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिको तालिम तथा पुनः स्थापन कार्यक्रम (Rehabilitation Program) लाई पनि सहयोग गर्ने विषयमा छलफललाई अगाडि बढायो र १ जनवरी १९९८ देखि २०११ सम्म नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालको सहआर्थिक साझेदारको रूपमा NCA को भूमिका लियो र सन् २०१२ देखि लमहीमा रहेको आँखा स्वास्थ्य कार्यक्रममा पनि आफ्नो सहयोग विस्तार गर्‍यो र हालसम्म सहयोग निरन्तर छ ।

— त्यो बेलाको राप्ती आँखा अस्पताल अहिलेको राप्ती आँखा अस्पताल, बहादुरगन्ज र लमही अस्पतालसम्म आइपुग्दा के कस्ता सेवा विस्तार भए ?

आजभन्दा करिब साढे तीन दशक अघि स्थापना भएको राप्ती आँखा अस्पताल र अहिलेको राप्ती आँखा अस्पतालको विकास र विस्तारको बारेमा आँखा उपचारको लागि अब कही कतै अन्य आँखा अस्पतालमा जान नपर्ने गरी सुविधा सम्पन्न आँखा अस्पतालको रूपमा विकास भएको छ ।

यसको बारेमा विस्तृत व्याख्या गर्ने हो भने यति थोरै समय र स्थानले पुग्दैन होला । संक्षिप्तमा भन्नु पर्दा दृष्टिविहीन न्यूनीकरण गर्नमा राप्ती अञ्चलको पाँचवटै जिल्लाको दुरदराजामा आँखा सेवाको पहुँच पुर्‍याएको कारण नै दृष्टिविहीनताको व्यापक्तलाई ०.८७ प्रतिशतबाट ०.१३ प्रतिशतमा कम गर्न सफल भएको छ ।

विगतमा वार्षिक ५ हजारलाई सेवा पुर्‍याउँदै आएको अस्पतालले आज वार्षिक ७० हजारभन्दा बढीलाई सेवा उपलब्ध गराउँदै आएको छ,तीनवटै आँखा अस्पतालले आज वार्षिक रूपमा दुई लाखभन्दा बढीलाई सेवा प्रदान गरिरहेको छ भने राप्ती आँखा अस्पतालले मात्र वार्षिक तीन हजारभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ ।

तीनवटै आँखा अस्पतालले वार्षिक १७ हजारभन्दा बढी शल्यक्रिया गर्दै आएका छन । आजसम्म १ दर्जनभन्दा बढी चिकित्सकलाई नेत्रविशेषज्ञको र ५ जना नेत्रविशेषज्ञलाई नेत्रविशेषज्ञको छात्रवृति प्रदान गरेको छ । १०० बढी प्राविधिक जनशक्तिलाई विभिन्न विषयगत तालिम प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा उपकरणको विकास र विस्तारमा पनि उल्लेख्य सुधार भएको छ ।

राप्ती आँखा अस्पताल आज शैक्षिक प्रतिष्ठानको रूप अगाडि बढिरहेको छ भने हालसम्म तीन सय भन्दा बढी नेत्रसहायक प्रशिक्षित भइसकेका छन् भने निकट भविश्यमा MD Ophthalmology Residency कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । Phaco emulsification तालिम नेपाली नेत्रविशेषज्ञलाई मात्र नभई विदेशी नेत्रविशेषज्ञलाई उपलब्ध गराएको छ ।

राप्ती आँखा अस्पताल र यस अन्तर्गतको अस्पताल लमही आँखा अस्पताल तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा उपलब्ध छ । अस्पताल अन्तर्गत दुईवटा अत्याधुनिक र सुविधा सम्पन्न आँखा अस्पताल (लमही आँखा अस्पताल र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल) र ११ वटा आँखा उपचार केन्द्रको विकास र विस्तार भएको छ ।

आँखा उपचारको सेवालाई दुरदराजको विकट क्षेत्रमा आँखा उपचार सेवा केन्द्रको माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ । रुकुम आँखा उपचार केन्द्र,सुलिचौर आँखा उपचार केन्द्र र कोईलाबास आँखा उपचार केन्द्रमा अत्याधुनिक फेको प्रविधिबाट शल्यक्रियाको सेवा उपलब्ध छ ।

कर्णाली प्रदेशको सुर्खेतको गुर्भाकोट सर्जिकल सेन्टरलाई राप्ती आँखा अस्पतालको व्यवस्थापकीय जिम्मेवारीमा जिल्ला अस्पतालको रूपमा विकास र विस्तार कार्य भइरहेको छ । दातृ निकायसँगको सम्बन्धको कारण आज आधा दर्जनभन्दा बढी दातृ निकायको प्रत्यक्ष तथा अप्रत्यक्ष साथ सहयोग प्राप्त भएको छ भने स्थानीय,प्रदेश तथा संघीय सरकारको अपनत्व बढेको छ ।

आँखा स्वास्थ्य सेवाको अतिरिक्त लमही आँखा अस्पतालमा नाक,कान तथा घाटी विभाग स्थापना भई नाक,कान,घाँटी विशेषज्ञबाट नियमित सेवा उपलब्ध भइरहेको छ । राप्ती आँखा अस्पताल तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा कानकोरिफरल सेवा उपलब्ध छ ।

आ.व २०८२÷०८३ मा नाक,कान घाँटी अस्पतालको लागि माननीय मेटमणी चौधरीबाट तीन करोड विनियोजन भएको छ र कार्ययोजनासहित नाक,कान,घाँटी अस्पताल बनाउनको लागि कार्य भइरहेको छ ।

— अस्पतालमा कुन–कुन विशेषज्ञ सेवा उपलब्ध छन् । आँखा उपचारका लागि रिफर हुनुपर्ने अवस्था त छैन नि ?

राप्ती आँखा अस्पताल सेकेन्डरी अर्थात् दोस्रो तहको अस्पतालबाट विकसित भई तेश्रो तहको वषय विशेषज्ञको सेवा उपलब्ध गराउने अस्पतालको रूपमा विकास भएको छ । तीनवटै आँखा अस्पतालबाट नियमित रूपमा नेत्रविशेषज्ञबाट विशेषज्ञ सेवा उपलब्ध भइरहेको छ भने रुकुम सर्जिकल आँखा उपचार केन्द्र, सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र,कोईलाबास सर्जिकल आँखा उपचार केन्द्र र घोराही फेको सेन्टरबाट महिनाको एक पटक विशेषज्ञ सेवा उपलब्ध छ ।

राप्ती आँखा अस्पतालमा हाल जलविन्दु विशेषज्ञ सहायक प्राध्यापक नेत्र विशेषज्ञको नेतृत्वबाट जलविन्दुको विषय विशेषज्ञको सेवा थप भएको छ । लमही आँखा अस्पतालमा प्राध्यापक नेत्र विशेषज्ञबाट मेडिकल रेटिनाको विषय विशेषज्ञको सेवा उपलब्ध भइरहेको छ भने नाक, कान, घाँटीको विषय विशेषज्ञको सेवा उपलब्ध छ ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा अकुलोप्लाष्टि विषय विशेषज्ञको सेवा उपलब्ध छ । राप्ती आँखा अस्पतालमा रेटिना, कार्निया र बालरोग आँखा सेवाको Consultancy Service उपलब्ध छ । यो सेवा लमही तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा पनि उपलब्ध छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा केही समय पश्चात सर्जिकल रेटिनाको सेवा उपलब्ध हुने छ भने तीनवटै आँखा अस्पतालमा छिटै ड्राईआई थेरापीको सेवा सुरुवात गरिने छ ।

— आँखा अस्पताललाई नेत्र प्रतिष्ठानका रूपमा विकास गर्ने र नेत्र रोग विषेशज्ञको पढाइ हुने प्रक्रिया कहाँ पुग्यो ?

राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अगाडि सारेका छौँ । अहिले नेत्रसहायक पढाइ सञ्चालन गरेका छौँ। अन्य नेत्रविशेषज्ञलाई फेकोदेखि अन्य फेलोसिपका कार्यक्रम सञ्चालन गरेका छौँ । हामीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानदेखि विभिन्न समयमा विभिन्न प्रतिष्ठानसँग साझेदारी गर्न लागेका छौँ । कार्यक्रमलाई अगाडि बढाउन एकजना प्राध्यापक र एकजना सहायक प्राध्यापक नियुक्त भइसक्नु भएको छ । बाँकी काम भइरहेको छ ।

— यो संस्था गैरनाफामूलक संस्था हो । सरकारको नियमित लगानी नहुने र सधै दातृ निकायको सहयोगमा चल्नु पर्दा के कस्ता चुनौती देख्नुभएको छ ?

हो, आँखा अस्पताल गैरनाफामुखी संस्था हो । नेपाल नेत्रज्योति संघ २०३५ सालमा स्थापना भएको परोपकारी सामाजिक संस्था हो । जसअन्तर्गत दाङ शाखाको स्थापना २०४१ सालमा भएको थियो । नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत हाल तीनवटा आँखा अस्पताल सञ्चालन छन् भने अन्य उपचार केन्द्रबाट यसले सेवा दिइरहेको छ ।

विभिन्न समयमा विकट क्षेत्रमा आँखा शिविर सञ्चालन गर्नुका साथै अस्पतालले विभिन्न दातृ निकायको सहयोगबाट आँखा शिविरका साथै अन्य जनचेतनामूलक र पैरवी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । अस्पतालले सुगममा मात्र नभई लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न दुर्गभ क्षेत्रमा पुगेर आँखा चेकजाँच शिविर सञ्चालन गरी हजारौँलाई उज्यालो प्रदान गरिरहेका छौँ ।

तीनवटै आँखा अस्पताल र उपचार केन्द्रलाई एउटै संगठनमा आवद्ध गराई दिगोपन विकासको लागि संघले केन्द्रबाट २०७३ मा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जलाई गभर्निङ निकायको रूपमा मान्यता प्राप्त भएको छ । हामीलाई विभिन्न दातृ निकायले सहयोग गर्दै आएका छन् । यो दायित्व सरकारकै हो, हामीले सरकारको स्वास्थ्य तथा आँखा स्वास्थ्य रणनीतिलाई सहयोग पुर्‍याइरहेका छौँ ।

अर्को सकारात्मक पक्ष के रहेको छ भने स्थानीय, प्रदेश र संघीय सरकारले नियमित रुपमा केही न केही र कुनै न कुनै तरिकाबाट आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको लागि सहयोग पुर्‍याउँदै आएका छन भने दातृ निकायबाट लागत सहभागितामा सहयोग गर्ने उत्सुकता देखिएको छ । यो हाम्रा लागि राम्रो पक्ष हो । हाल आँखा स्वास्थ्य कार्यक्रमा वार्षिक बजेटको करिब २५ देखि ३० प्रतिशत दातृ निकायको छ भने बाँकी अस्पतालले आफ्नै स्रोतबाट नियमित कार्य सञ्चालन गरिरहेको छ ।

डिमान्ड एण्ड सप्लाईको सिद्धान्त मुताविक माग बढी र सप्लाई कम भएकाले यो चुनौती रहेको छ तर यही शैक्षिक सत्रबाट नेपाल सरकारको छात्रवृतिमा अध्ययन पूरा गरेका नेत्र चिकित्सकलाई नेत्रज्योति संघअन्तर्गतका अस्पतालमा पठाउन सकिने निणर्यले भविष्यमा चुनौतीलाई कम गर्न सहयोग पुग्ने देखिन्छ ।

— भावी योजना के बनाउनुभएको छ ?

आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही थप जिल्लामा सेवा विस्तार गर्नुपर्ने रणनीतिक योजना रहेको छ भने अब आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जलाई तीनवटा कम्पोनेन्टका रुपमा अघि बढाउने दीर्घकालीन योजना रहेको छ ।

जस्तै आँखा तथा नाक,कान,घाँटी स्वास्थ्य सेवा जसअन्तर्गत राप्ती आँखा अस्पताल,लमही आँखा अस्पताल,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,नाक,कान,घाँटी अस्पताल र उपचार केन्द्र रहने छन् । नेत्र विज्ञान अध्ययन प्रतिष्ठानअन्तर्गत नेत्र सहायक,फार्मेसी अध्ययन अध्यापन,MD Ophthalmology / Sub-Speciality Training रहने छ ।

पुर्नस्थापन कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा शारिीक अपाङ्ग भएका समूह,व्यक्तिलाई प्रदान गरिने सेवा रहने छ । अर्को योजना भनेको १५ करोडको अक्ष्यकोष स्थापना गरी दुरदराजमा निःशुल्क आँखा सेवाको पहुँच पुर्‍याई दृष्टिविहीनता न्यूनीकरणको अभियानमा लाग्ने दीर्घकालीन सोच बनाएका छौँ । गाेरक्ष राष्ट्रिय दैनिकबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]