दाङ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थपनाका लागि प्रदेश सरकारले प्रकृया अगाडी बढाएको छ । शुक्रबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि प्रतिष्ठान गठनको कानुनी प्रकृया अघि बढेको हो ।
अब उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तर्फबाट प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेश हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए । ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय मन्त्री परिषद बैठकबाट भएको छ,’ मन्त्री न्यौपानेले भने ‘अब यो विधेयक प्रदेशसभामा पेश हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रकृया अगाडी बढ्छ ।’
त्यस्तै विधेयक प्रदेशसभामा पेश भएपछि संसदले यसलाई पारित गर्नुपर्ने हुन्छ । संसदबट पारित भएको विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पुग्ने छ । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि ऐनको रुपमा जारी हुने छ । ऐन निर्माण भयो भने सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनका लागि प्रकृया अगाडी बढाउन बाटो खुला हुनेछ ।
यस्तै भाषा, साहित्य, लोक साहित्य,संस्कृति, ललितकला, नाट्यकला, संगितको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य सहित प्रतिष्ठानको स्थापना गर्न थालिएको मन्त्री न्यौपानेले जानकारी दिए । ‘भाषा, साहित्य, लोक साहित्य,संस्कृति, ललितकला, नाट्यकला, संगितको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ,’ मन्त्री न्यौपानेले भने ‘यहि लक्ष्य प्राप्तीका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्न थालिएको हो ।’