
Ggp
Asbus
Ksbus
Rgp
Sdc
Ggp
Ksbus
Msbus
Lnp


सुदूरपश्चिम । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।
त्यस्तै निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए । उनले भने, ‘आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ। पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ।’ लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताए ।
यस्तै गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ। सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ । यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन्। नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।
त्यस्तै खुला भाँडा,गमला,साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ। डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ।
