
Rgp
Ggp
Ksbus
Lnp
Msbus
Ggp
Ksbus
Asbus
Sdc

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश कमिटी सदस्य सन्तोष केसी महरा राप्रपा परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी महराले राप्रपा परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य,सल्लाहकार तथा स्थानीय नेताहरुले टीका,फूलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत तथा अभिनन्दन गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टी लमही नगर कमिटीका संयोजक गणेश चौधरीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश चौधरीले मुलुकको राजनीतिक,सामाजिक तथा आर्थिक रुपान्तरणका लागि जनताको पक्षमा दृढतापूर्वक उभिने राजनीतिक शक्तिको आवश्यकता रहेको बताए ।
उनले पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्दै स्थानीयस्तरका समस्या र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । उनले राजनीतिक दलप्रतिको जनताको विश्वासलाई बलियो बनाउन नेता तथा कार्यकर्ता जनताका समस्या बुझ्ने र समाधानका लागि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए । पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यलाई उचित जिम्मेवारी दिँदै संगठन विस्तार र सुदृढीकरणमा अगाडि बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरबहादुर केसी,सुदन खनाल,केन्द्रीय सल्लाहकार तिलक केसी तथा लमही इञ्चार्ज बसन्त शर्मा ‘विक्रान्त’ लगायतले पार्टीको आगामी नीति, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकारहरुसँग पार्टीको नीति, विचार तथा आगामी गतिविधिका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियाका क्रममा स्थानीयस्तरमा पार्टीले खेल्नुपर्ने भूमिका,जनताका समस्या तथा समसामयिक विषयमा छलफल भएको थियो । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सर्कुलर अनुसार भोटेकोसीमा आएको अविरल बाढीका कारण प्रभावित रसुवा क्षेत्रमा आर्थिक,भौतिक तथा श्रमका माध्यमबाट सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने पार्टीको योजना रहेको लमही नगर कमिटीका सह–संयोजक विश्वप्रकाश अधिकारीले बताए ।
विपदमा परेका नागरिकलाई सहयोग गर्नु पार्टीको सामाजिक दायित्व भएको उनको भनाइ थियो । कार्यक्रमको सहजीकरण नेपाली कम्युनिस्ट पार्टी लमही नगर कमिटीका सह–संयोजक विश्वप्रकाश अधिकारीले गरेका थिए ।
