काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय एक जना छन् ।
उनीहरूले सरकारी बेवसाइट ह्याक गरी ९ हजार ४ सयभन्दा बढीलाई गलत सूचना प्रवाह गरेको पाइएकाले अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरी प्रवक्ता नवीन्द अर्यालले जानकारी दिनु भएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनु भयो । उनीहरुलाई विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।