दाङ । राष्ट्रको अर्थतन्त्र धान्ने ब्यवसायीहरुमाथी नेपालका बैंकहरुले लगाएको चर्को ब्याजको बिरुद्धमा तत्काल ब्याज समायोजन गर्न भनी ब्यवसायीक संगठनहरुद्धारा देशभर बिरोध प्रदर्शन भैरहेको छ ।
यसै क्रममा गढवा उद्योग बाणिज्य संघको आयोजनामा सोमवार देउखुरीको गढवामा पनि बिरोध प्रदर्शन भएको हो । बैंक तथा बित्तिय संस्थाहरुले ब्यवसायीहरुलाई चर्को ब्याज थोपरेर पलायन हुने स्थितिमा पुर्याएको भन्दै कार्यक्रमका बक्ताहरुले कडा बिरोध गरेका हुन् । बैंकहरुले कर्जा लिएका ब्यवसायीहरुलाई महिनै पिच्छे मनपरि ढंगले ब्याज बढाई रहेको भन्दै यस्तो प्रकृया तत्काल अन्त्य नभएसम्म ब्यवसायीहरुद्धारा कडा आन्दोलनका कार्यक्रमहरु सर्बजनिक गर्न बाध्यहुने कार्यक्रममा बताईएको हो ।
कर्जा लिएका ऋणिहरुलाई एकल अंकको ब्याजदर कायम गर्न,सेवा शुल्क घटाउन,कर्जाको ब्याजदर पुर्नसंरचना गर्न,चालु पूजी निर्देशिका कार्यान्वयन नगर्न नगराउन र पटक पटक ब्याजदरमा हेरफेर नगर्न देशब्यापी रुपमा उद्योग बाणिज्य महासंघले आन्दोलनको सुरुवात गरेको कार्यक्रममा जानकारी गराइएको हो । सोही कार्यक्रम अन्तर्गत सोमवार देउखुरीका सबै उद्योग बाणिज्य संघहरुले स्थानीय बजारहरुमा बिरोध प्रदर्शन गरेका हुन ।
त्यस्तै गढवा बजारमा कालो ब्यानर तथा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित प्रदर्शन पछि संघका अध्यक्ष खिमबहादुर बुढामगरको अध्यक्षता र गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष रविलाल आचार्य र गढवा होटल ब्यवसायी संघका सचिव तिलक बहादुर पुनले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष ओमप्रकाश बस्यालले गर्नुभएको थियो ।