दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लेखा प्रणालीलाई प्रविधिसंग जोड्न निर्देशन दिनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको दुई दिने विद्यालय अनलाइन लेखा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खड्काले लेखा प्रणालीलाई चुस्तदुरुस्त राख्दै प्रविधिसंग जोड्न सके आर्थिक पारदर्शिता देखिने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले आर्थिक विवरणलाई दैनिकरुपमा अद्यावधिक गर्दै राख्न निर्देशन दिनुभएको थियो । उहाँले विद्यालयको लेखा प्रणालीलाई थप व्यवस्थित तुल्याउनका लागि पालिकाबाट अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सार्वजनिक खरिद ऐनलाई नै टेकेर खरिद र निर्माणका प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रशिक्षक तुलसीपुर उपमहानगरपालिका लेखाप्रमुख खिमलाल वलीले बजेट निकासा र खरिद नियम प्रक्रिया पुर्याएरै काम अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन शाखाका अधिकृत मनबहादुर खड्काले गर्नुभएको थियो ।