दाङ । दाङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम अव वडा तहबाटै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट हुँदै आएको विवरण संकलनको काम अव वडा तहबाट हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले दाङमा विवरण संकलनकालागि वडा तहमै अभियान सञ्चलन हुन थालेको जानकारी गराइएको छ ।
जिल्लाका दश स्थानीय तह मध्य सुरुमा आउने आइतवारदेखि घोराही उपमहानगरपालिकाबाट अभियान सुरु हुन थालेको हो । दाङका पाँच लाख बढी १६ बर्षमाथिका जनसंख्यालाई ३ देखि ४ महिनाभित्र राष्ट्रिय परिचयपत्र दिने गरि अभियान सञ्चालन गर्न थालेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्राईले जानकारी दिनु भएको छ । विवरण संकलनका लागि एक वडामा कम्तीमा २ देखि ४ दिनसम्म काम गरिने महानिर्देशक भट्राईले जानकारी दिनुभएको छ । अभियानका क्रममा सम्वन्धीत वडाको नागरिकको मात्रै अभियानका क्रममा विवरण संकलन गरिने उहाँले बताउनु भयो ।
दाङमा हालसम्म राष्ट्रिय परिचयपत्र ४७ हजार ७८ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेको विभागका महानिर्देशक भट्राईले जानकारी दिनुभएको छ । विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्नेछ । अभियानका क्रममा १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुनेछ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राष्ट्रिय परिचयपत्र बनाउने टोली वडा तहमै आउनु राम्रो भएको भन्दै अभियानलाई सवै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र भनेको के हो ? परिचयपत्र किन बनाउने र बनाउनका लागि के के आवश्यक रहन्छ भन्ने बारेमा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका निर्देशक सागरमणि पाण्डेले जानकारी गराउनुभएको थियो ।