गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर–२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर दुर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनामा परेर जेसीबी चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नम्बर–१ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।
जेसीबी गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जेसीबी सडकबाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।