बाँके । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर,नेपालगन्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।
यसैक्रममा बाँके प्रहरीले होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले क्यासिनोबाट नेपालगन्जका मनोज विक,विपिन सिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की,विक्रम क्षेत्री,आकाश सिंह र मोहित शाहलाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो ।
त्यस्तै डिएसपी न्यौपानेले क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने,धम्क्याउने गरेकाले ती ७ जनालाई पक्राउ गरिएको बताए । ‘सिटी प्यालेसभित्र रहेको क्यासिनोमा छिरेर थर्काउने,सताउने, जबरजस्ती गर्न खोज्ने र गुण्डागर्दी गरेको पाइएपछि हाम्रो प्रहरी टोली गएर छापा हानी उनीहरुलाई पक्राउ गरेको हो ।’ डिएसपी न्यौपानेले भने । डिएसपी न्यौपानेले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही अगाडी बढाइने जानकारी दिए ।