दाङ । गढवा गाउँपालिकाले पहिलो बैठकबाट सरकारी बिद्यालयहरुको शैक्षिक अबस्थामा ब्यापक सुधार गर्न ठोस योजना बनाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा बिहिवार सम्पन्न भएको पहिलो बैठकले गाउँपालिकामा रहेका सबै सरकारी बिद्यालयहरुमा गुणस्तर सुधार गर्न ठोस योजना निर्माण गर्ने र सबै बिद्यालयहरुमा नेपालीका साथसाथै यसै शैक्षिकसत्र देखि अंगे्रजी माध्यमको पठन–पाठन समेत सुरु गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
यस अघि सम्पन्न अन्तरक्रीयामा नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल र उपाध्यक्ष शारदा कुमारी चौधरी समक्ष गाउँपालिकाका सबै सरकारी बिद्यालयका प्रधानाध्यापक हरुले आ–आफ्ना बिद्यालयहरुका समस्याहरु राख्नु भएको हो । सोही छलफलको निश्कर्ष पहिलो बैठकको निर्णय बनेको छ ।
सरकारी बिद्यालयहरुका बिद्यार्थीहरुलाई शुरक्षित आवागमनका लागि यातायातको ब्यवस्थापन, स्वयंसेवक शिक्षकहरुको पारिश्रमिकमा बृद्धि,हावा हुरीले छाना उडाएका बिद्यालयहरुको भौतिक निर्माण,बिद्यलयहरुमा शौचालय तथा खानेपानीको दिर्घकालिन ब्यवस्थापन लगायतका समस्याहरु समाधान गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गत मंगलबार सम्पन्न भएको बृहत्त अन्तरक्रियामा गाउँपालिका अध्यक्ष पोखे्रलले शिक्षा क्षेत्रमा ब्यापक सुधार गर्ने र सरकारी बिद्यालयहरुमा रहेका समस्याहरुलाई पहिचान गरि दिर्घकालिन र अल्पकालीन ठोस योजनाहरु बनाएर क्रमागत रुपमा समाधानको प्रकृयातर्फ अगाडी बढ्ने बताउनु भएको हो ।
हावाहुरीले छानो उडाएका बिद्यालयहरुको तत्काल भौतिक निर्माण गर्ने,बिद्यालयहरुमा प्रयोगबिहिन अवस्थामा रहेका शौचालयहरु र खानेपानीको उचित ब्यवस्थापन यसै बर्षदेखि सुरुवात गर्ने र हरेक बिद्यालयहरुमा वालमैत्री शौचालयको समेत ब्यवस्थापन गर्ने अध्यक्ष पोखे्रलले बताउनुभयो । सरकारी बिद्यालयहरुमा पठन–पाठनको गुणस्तर बृद्धि गर्न बिद्यालयका प्रअहरुको सल्लाह सुझाव बमोजिम समन्वय र सहकार्यका आधारमा कार्ययोजना बनाएर कार्यान्वयन गर्ने उहाँले बताउनु भएको छ ।